कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख १८ हजार परीक्षार्थी सहभागी
काठमाडौँ, १४ वैशाख । माध्यमिक तहको अन्तिम परीक्षा अर्थात् कक्षा १२ को वार्षिक परीक्षा आज (सोमबार) देखि सुरु भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार, देशभरका ४ लाख १८ हजार ८ सय विद्यार्थी यस परीक्षामा सहभागी हुँदै छन्। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भइरहेको छ। आजदेखि सुरु भएको यो परीक्षा आगामी वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ।
बोर्डले परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै केन्द्रमा आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। साथै, परीक्षा सम्पन्न भएको डेढ महिना (४५ दिन) भित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित बोर्डले तयारी गरिरहेको जानकारी दिएको छ।