कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे बन्ने सहमति

काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन हुने भएका छन्। पार्टीभित्रको चरणबद्ध आन्तरिक छलफलपछि उनको नाममा सर्वसम्मत सहमति जुटेको हो।

संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्न कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा एक समिति गठन गरेको थियो। उक्त समितिले आङ्देम्बेको नाममा सहमति जुटाएर पार्टी सभापति गगन थापालाई नाम सिफारिस गरिसकेको पार्टीका एक पदाधिकारीले जानकारी दिए।

“समितिले सहमति जुटाएर उहाँ (आङ्देम्बे) को नाम सभापतिज्यूलाई बुझाइसकेको छ,” ती पदाधिकारीले भने, “आजै बस्ने सांसदहरूको बैठकमा उक्त नाम प्रस्तुत गरी औपचारिक रूपमा अनुमोदन गराउने तयारी छ।”

संसदीय दलको नेताका लागि आङ्देम्बेसहित वरिष्ठ नेता अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दै आएका थिए। तर, पार्टीभित्रको आन्तरिक सन्तुलन र शर्मा नेतृत्वको समितिको पहलपछि आङ्देम्बेको नाममा सहमति जुटेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *