म्याग्दीको धवलागिरिमा ६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, १४ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–४, बगरमा ६५ मेगावाट क्षमताको ‘म्याग्दीखोला जलविद्युत् आयोजना’को निर्माण सुरु भएको छ। हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको यस आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणको काम समानान्तर रूपमा अघि बढाएको छ।

आयोजना प्रमुख उत्तम पौडेलका अनुसार, बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म म्याग्दी नदीको किनारैकिनार डाइभर्सन बनाएर करिब १० किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ। साथै, बगरमा कार्यालय स्थापना गरी विद्युत्गृहबाट निस्कने पानी फाल्ने १ हजार १ सय ३० मिटर लामो ‘टेलरेस सुरुङ’ खन्न सुरु गरिएको छ। सिभिल निर्माणको जिम्मा पाएको ‘भूगोल इन्फ्रास्ट्रक्चर’ले विद्युत्गृह, बाँध र मुख्य सुरुङ खन्ने अन्तिम तयारी गरिरहेको पौडेलले जानकारी दिए।

‘रन अफ द रिभर’ (नदी प्रवाही) प्रकृतिको यस आयोजनाको बाँध म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुनेछ। त्यहाँबाट ७५ मिटर लामो बालुवा थिग्राउने पोखरी (डिसेन्डर) मा जम्मा गरिएको पानीलाई ७ सय १० मिटर लामो पाइपलाइन हुँदै ३ हजार ६ सय मिटर लामो सुरुङमा पठाइनेछ। सुरुङबाट पुनः ७ सय ५० मिटर पाइपलाइनमार्फत ल्याइएको पानीलाई ६ सय ७ मिटर उचाइबाट पहाडभित्र निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ।

बगर र तातोपानीको बीचमा रहेको पहाडभित्र ६४० मिटर लामो सुरुङ खनेर भूमिगत विद्युत्गृह बनाउन लागिएको हो, जसमा तीन वटा टर्बाइन रहनेछन्। आयोजनाबाट सुक्खायाममा ११७.८२ र वर्षायाममा २६४.४५ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ। उत्पादित विद्युत् बगरदेखि १६.५ किलोमिटर दूरीमा रहेको डाँडाखेत सबस्टेसनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ, जसका लागि १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाइएको आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले बताए।

प्रतिमेगावाट २० करोड रुपैयाँका दरले कुल १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट वि.सं. २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

आयोजना व्यवस्थापक प्रमेश थापाका अनुसार, सिभिल ठेकेदार गत पुस महिनादेखि नै निर्माण स्थलमा खटिइसकेका छन् भने इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल ठेकेदार छनोटको चरणमा छन्। सुरुङ निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको सुरक्षा प्रबन्ध गर्न केही दिनभित्रै भैँसीखर्कमा नेपाली सेनाको क्याम्प (आधार शिविर) स्थापना गरिने आयोजनाले जनाएको छ। सेनाको क्याम्प बसेलगत्तै मुख्य सुरुङ खन्ने काम सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *