कञ्चनपुरको बेलौरीमा तीन वर्षदेखि बन्द हाटबजार पुनः सञ्चालन हुने

काठमाडौँ, वैशाख १६ । कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित खुलामञ्च नजिकै तीन वर्षदेखि बन्द रहेको हाटबजार पुनः सञ्चालनमा आउने भएको छ । आवश्यक भौतिक पूर्वाधारको निर्माण तथा मर्मतसम्भार गरी नयाँ व्यवस्थापनका साथ बजारलाई पुनः सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको हो ।

नगर उपप्रमुख जोगराम चौधरीका अनुसार हाटबजार सञ्चालनका लागि आवश्यक पूर्वाधार सुधारका कार्यहरू तीव्र गतिमा अगाडि बढाइएको छ। सो क्षेत्रमा १२ वटा नयाँ प्रदर्शनी कक्ष निर्माण गरिनुका साथै पुराना ११ वटा कक्षहरूको मर्मत कार्य सम्पन्न भएको छ। साथै, शौचालयको सरसफाइ, रङरोगन र परिसरको व्यवस्थापन कार्य समेत पूरा गरी बजारलाई प्रयोगयोग्य बनाइएको छ ।

हाटबजारको भौतिक संरचना सुधार र व्यवस्थापनका लागि नगरपालिकाले ८ लाख ५० हजार रुपियाँबजेट विनियोजन गरेको थियो । स्थानीय बासिन्दाको १ लाख १० हजार १५७ रुपियाँ बराबरको जनश्रमदानसहित कुल ९ लाख ६० हजार १५० रुपैयाँको लागतमा उपभोक्ता समितिमार्फत निर्माण कार्य सम्पन्न गरिएको हो ।

उपप्रमुख चौधरीले आगामी एक हप्ताभित्रै बजार सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । “यो हाटबजार सञ्चालनमा आएपछि बेलौरी क्षेत्रका १० हजारभन्दा बढी किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्,” उहाँले भन्नुभयो । विगतमा फितलो व्यवस्थापनका कारण बन्द भएको यस बजारलाई यसपटक दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।

बजारको अभावमा स्थानीय किसानहरूले आफ्ना कृषि उपज टोकरीमा बोकेर गाउँगाउँ डुल्दै बिक्री गर्नुपर्ने बाध्यता रहिआएको थियो। हाटबजार सञ्चालनपछि किसानहरूले एकै स्थानमा आफ्ना उत्पादन बिक्री गर्न पाउने भएकाले समय, श्रम र लागतमा बचत हुने र आम्दानीमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

स्थानीय किसान लवकुश चौधरीले हाटबजार सञ्चालनले तरकारी, फलफूल, माछा र मासु लगायतका स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो। यसबाट स्थानीय अर्थतन्त्र चलायमान हुनुका साथै दैनिक उपभोग्य वस्तुका लागि भारतीय सीमावर्ती बजारमा निर्भर रहनुपर्ने प्रवृत्तिमा समेत कमी आउने विश्वास गरिएको छ ।

बेलौरी नगरपालिकाभित्र यसअघि सञ्चालनमा रहेका कलकत्ता, गोकुलपुर र बेलौरीका हाटबजारमध्ये हाल कलकत्ताको बजार मात्र सञ्चालनमा छ । नगरपालिकाले बन्द अवस्थामा रहेका अन्य बजारहरूलाई पनि क्रमशः पुनः सञ्चालनमा ल्याएर कृषकहरूलाई सहजीकरण गर्ने योजना अघि सारेको छ ।