आज पहिलोपटक ‘भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस’ मनाइँदै
काठमाडौँ, वैशाख १६ । भूकम्पबाट प्रभावितहरूको सम्मान र सम्झनामा आज विश्वभर पहिलोपटक ‘भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस’ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले यसै वर्षदेखि प्रत्येक वर्ष अप्रिल २९ तारिखलाई यो दिवसका रूपमा मनाउने निर्णय गरेसँगै आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाउन लागिएको हो ।
संयुक्त राष्ट्रसङ्घले आफ्ना सदस्य राष्ट्रहरू, राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकायहरू र सम्बद्ध अन्तरराष्ट्रिय सङ्घसंस्थाहरूलाई यस दिवसको अवसरमा ऐक्यबद्धता जनाउन र विपद् न्यूनीकरणका क्षेत्रमा सहकार्य गर्न आह्वान गरेको छ । प्राकृतिक विपत्तिहरूमध्ये भूकम्पलाई सबैभन्दा घातक र विनाशकारी मानिन्छ, जसले मानव जीवनका साथै भौतिक पूर्वाधारमा अपूरणीय क्षति पुऱ्याउँदै आएको छ ।
हालैका वर्षहरूमा म्यान्मा र अफगानिस्तानमा गएका शक्तिशाली भूकम्पले ठूलो मात्रामा पूर्वाधार ध्वस्त बनाउनुका साथै समुदायलाई विस्थापित गरेको छ। यस्ता विपद्ले सम्बन्धित देशको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्षमा दीर्घकालीन असर पार्ने गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् १९०० यता विश्वमा कम्तीमा १२ वटा यस्ता ठूला भूकम्प गएका छन्, जसमध्ये प्रत्येकले ५० हजारभन्दा बढी मानिसको ज्यान लिएका थिए । विश्वव्यापी रूपमा हुने विपद्जन्य क्षतिमध्ये २५ प्रतिशतभन्दा बढी हिस्सा भूकम्पले ओगट्ने गरेको छ । पछिल्ला दशकहरूमा भूकम्पकै कारण विश्वभर खर्बौँ डलर बराबरको आर्थिक नोक्सानी भएको अध्ययनले देखाएको छ ।
प्रत्यक्ष विनाशका अतिरिक्त भूकम्पले आगलागी, सुनामी र पहिरो जस्ता थप जोखिमहरू समेत निम्त्याउने गर्दछ। यसबाट आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका क्षेत्रमा अकल्पनीय क्षति पुग्ने भएकाले यस्ता जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि विश्व समुदायको ध्यान आकृष्ट गर्न यो दिवसको विशेष महत्त्व रहेको छ ।