आईसीसी लिग–२: ओमानद्वारा नेपालसामु ३०६ रनको विशाल लक्ष्य प्रस्तुत

काठमाडौँ, १६ वैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा ओमानले नेपालसामु जितका लागि ३०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको बलियो योगफल तयार पारेको हो।

ओमानलाई ठुलो स्कोरसम्म पुर्‍याउन कप्तान जातिन्दर सिंहले सानदार शतक प्रहार गरे। आक्रामक ब्याटिङ गरेका उनले ९६ बलको सामना गर्दै १५ चौका र ५ छक्काको मद्दतमा १३० रनको उत्कृष्ट इनिङ्स खेले।

ओमानका अन्य ब्याटरहरूले पनि उनलाई राम्रो साथ दिए। मध्यक्रमका ब्याटर जितेन रमणन्दीले ४३ र आर्यन बिष्टले ३५ रनको योगदान दिए। त्यस्तै, हमाद मिर्जाले ३०, आशिष ओडेदारा र विनायक शुक्लाले समान २३/२३ रन जोड्दा वसिम अली १२ रनमा अविजित रहे।

सुरुवाती ओभरमा दबाब बनाउन खोजे पनि नेपाली बलरहरू मध्यओभरमा ओमानका ब्याटरसामु हाबी हुन सकेनन्। बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभर बलिङ गर्दै ५९ रन खर्चेका थिए। त्यसैगरी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट हात पारे।

३०६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। नेपाल, ओमान र यूएई सम्मिलित यस शृङ्खलामा नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो।