मौसम प्रतिकूल बनेपछि खेतको गहुँ तत्काल सुरक्षित भण्डारण गर्न कृषि विभागको आग्रह

काठमाडौँ, १६ वैशाख । मौसममा आएको फेरबदलका कारण पानी पर्ने जोखिम बढेपछि कृषि विभागले खेतमा काटेर राखिएको गहुँ तत्काल सुरक्षित स्थानमा भण्डारण गर्न किसानहरूलाई आग्रह गरेको छ।

देशका विभिन्न भागमा हुस्सु, कुहिरो र वर्षा हुन थालेकाले खेतमै गहुँ छाड्दा उत्पादनमा ठुलो क्षति पुग्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन अनुरोध गरेको हो।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले भण्डारण गरिएको गहुँलाई घुन तथा कीराबाट जोगाउन घरेलु प्रविधिको प्रयोग गर्न सुझाव दिएका छन्। उनले भकारीको माथिल्लो भागमा ४ देखि ५ इन्च बाक्लो गरी सुकाइएको नीम, बकाइनो र तितेपातीको पात राख्दा गहुँ सुरक्षित हुने बताए।

यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सूचना केन्द्रले गहुँ भित्र्याइसकेपछि खेतमा बाँकी रहने कृषि अवशेष (ठुटा/पराल) नजलाउनसमेत किसानलाई सचेत गराएको छ। केन्द्रका अनुसार यस वर्ष देशभर करिब २२ लाख मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ।

.