दक्षिण सुडानमा चरम खाद्य सङ्कट: ७८ लाख मानिस भोकमरीको जोखिममा

एजेन्सी, १६ बैशाख । दक्षिण सुडानमा बढ्दो भोकमरी सङ्कटका कारण सन् २०२६ को अप्रिलदेखि जुलाइसम्ममा करिब ७८ लाख मानिस चरम खाद्य असुरक्षाको चपेटामा पर्ने चेतावनी अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका छन्।

संयुक्त राष्ट्रसङ्घअन्तर्गतका खाद्य तथा कृषि सङ्गठन (एफएओ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा सार्वजनिक गरेको ‘एकीकृत खाद्य सुरक्षा वर्गीकरण (आईपीसी)’ प्रतिवेदनले यस्तो डरलाग्दो अवस्था औँल्याएको हो। रिपोर्टअनुसार हाल दक्षिण सुडानको कुल जनसङ्ख्याको ५६ प्रतिशत मानिस तीव्र खाद्य असुरक्षाको सामना गर्न बाध्य छन्।

प्रतिवेदनमा उल्लेख भएअनुसार हाल ७३ हजार ३०० मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गरिरहेका छन्। यसबाहेक २५ लाख मानिस भोकमरीको ‘आपत्कालीन चरण’मा र ५३ लाख मानिस ‘सङ्कटग्रस्त चरण’मा बाँचिरहेको तथ्याङ्कले देखाएको छ।

राष्ट्रसङ्घीय एजेन्सीहरूका अनुसार देशमा बढ्दो आन्तरिक द्वन्द्व, सामूहिक विस्थापन, निरन्तरको आर्थिक गिरावट, जलवायु परिवर्तनको असर र कृषि उत्पादनमा आएको भारी कमीका कारण यो सङ्कट अझ गहिरिएको हो।