रुपन्देहीको गणेशनगरमा दुई माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते
बुटवल, १६ वैशाख । रुपन्देहीको बुटवल–बर्दघाट सडकखण्ड अन्तर्गत गणेशनगरमा दुईवटा यात्रुवाहक माइक्रोबस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रोबस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ०० ख ८९२८ नम्बरको ईभी (विद्युतीय) माइक्रो बस गणेशनगरस्थित प्रतीक्षालय नजिकै एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेहरूको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरी चौकी देवदह खैरेनीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य २७ जना यात्रुहरूको पनि देवदह मेडिकल कलेजमै उपचार भइरहेको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।