प्रधानमन्त्रीको निर्देशनपछि सिंहदरबारमा सञ्चारकर्मीलाई दृश्य सङ्कलनमा अवरोध
काठमाडौँ, २१ वैशाख । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि सञ्चारकर्मीहरूलाई दृश्य (भिडियो) सङ्कलन गर्न रोक लगाइएको छ।
मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि सुरक्षाकर्मीले कार्यालयबाहिर भिडियो खिचिरहेका सञ्चारकर्मीहरूलाई अवरोध पुर्याएका हुन्।
कार्यालय प्रवेश गर्ने क्रममा बाहिर भिडियो खिचिरहेका पत्रकारहरूतर्फ सङ्केत गर्दै प्रधानमन्त्री शाहले सुरक्षाकर्मीसँग असन्तुष्टि व्यक्त गरेका थिए। प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गरेलगत्तै त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले भिडियो पत्रकारहरूलाई सो स्थानबाट तत्काल निस्कन र दृश्य सङ्कलन नगर्न आदेश दिएका थिए।
सार्वजनिक सरोकारका सूचना र गतिविधिहरू सङ्कलन गर्न सिंहदरबार पुगेका सञ्चारकर्मीहरूमाथि प्रधानमन्त्रीकै निर्देशनमा भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रताको विषयमा गम्भीर चासो बढाएको छ।
राज्यको प्रमुख प्रशासनिक केन्द्रमा सञ्चारकर्मीहरूलाई आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न बाधा पुर्याइनुले सूचनाको हक र स्वतन्त्र पत्रकारिताको मर्ममाथि प्रहार भएको भन्दै सञ्चार क्षेत्रका सरोकारवालाहरूले आलोचना गरेका छन्।