नेप्सेमा गिरावट कायमैः परिसूचक २७०४ विन्दुमा झर्दा कारोबार रकम सवा ४ अर्बमा सीमित
काठमाडौँ, २१ बैशाख । सेयर बजार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रमले साताको पहिलो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज ३४.६३ अङ्कले घटेर २७०४.०८ विन्दुमा ओर्लिएको छ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा आज ३४१ कम्पनीका १ करोड ७४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ। आज कुल ६८ हजार ६३५ पटक सेयर किनबेच भएको थियो।
यस दिन ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.३७ अङ्क, फ्लोट इन्डेक्स २.२१ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३६ अङ्कले घटेका छन्।
कारोबारमा आएका १३ उपसमूहमध्ये आज १२ वटाको सूचक नकारात्मक बनेका छन् भने लघुवित्त उपसमूहमा मात्र सामान्य वृद्धि देखिएको छ। लघुवित्त उपसमूहको परिसूचक ०.०२ अङ्कले बढेको छ।
यता, उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक २.५४ प्रतिशतले घटेको छ। त्यसैगरी, जलविद्युत् र विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले ओरालो लाग्दा होटल तथा पर्यटन, लगानी र व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले घटेका छन्।
समग्र बजार घटे पनि आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ। यस लघुवित्तको सेयर मूल्य १६४ रुपैयाँ ४० पैसाले बढेर प्रतिकित्ता १ हजार २६० रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, झापा इनर्जीको सेयर मूल्य ८ प्रतिशतले बढेको छ भने अन्य कम्पनीको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने आज सर्वाधिक १२.५८ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ३१ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको करिब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा नेसनल हाइड्रोपावरको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।