सेयर बजारमा हरियालीः नेप्से २७ अङ्कले बढ्दा सवा ३ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ, २५ बैशाख । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेर बन्द भएको छ । अघिल्लो दिन (बिहीबार) को वृद्धिलाई निरन्तरता दिँदै नेप्से परिसूचक आज २७.४९ अङ्कले बढेर २७४५.६५ को बिन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज बजारमा कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । बिहीबार २ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा आज कारोबार रकम बढेर ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँ पुगेको छ । आज बजारमा ३३५ वटा कम्पनीका ७४ लाख ७८ हजार कित्ता सेयर ५३ हजार १४ पटक खरिदबिक्री भएका छन् ।

आज ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२४ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स १.८८ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२४ अङ्कले उकालो लागेका छन् ।

आजको बजारमा त्रिशूली जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, होटल फरेस्ट इनको करिब ८ प्रतिशत र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यता, कारोबारमा आएको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने आज सबैभन्दा धेरै (६.५४ प्रतिशत) गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज होटल फरेस्ट इन शीर्ष स्थानमा रह्यो । यस कम्पनीको १३ करोड ८६ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको साढे १३ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये आज १२ वटा उपसमूहको परिसूचक बढेको छ भने व्यापार (ट्रेडिङ) उपसमूह स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै वित्त (फाइनान्स) उपसमूहको परिसूचक १.८७ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।