भक्तपुरमा ‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता’ सुरु
काठमाडौँ, वैशाख २५ । भक्तपुरको सूर्यविनायकमा शनिबारदेखि ‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता-२०८३’ सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना र सूर्यविनायक नगरपालिकाको सहयोगमा यो प्रतियोगिता सञ्चालन गरिएको हो ।
सूर्यविनायक नगरपालिका–८ स्थित हेल्दी फुटसलमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन नगरपालिकाका उपप्रमुख सरिता तिमसिना भट्टराईले गर्नुभयो । प्रतियोगितामा भक्तपुर जिल्लाभरका कूल २८ वटा टिमले सहभागिता जनाएका छन् ।
उद्घाटन कार्यक्रमका सभापति एवं नगरपालिकाका प्रवक्ता तथा सामाजिक विकास शाखा प्रमुख रवीन्द्र सापकोटाले खेलकुदको विकासका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले निःशुल्क खेलकुद प्रशिक्षण र विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
प्रतियोगिताको पुरस्कार राशिका बारेमा जानकारी दिँदै नगर खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले प्रथम हुने टिमलाई नगद ६० हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो । यसैगरी, दोस्रो हुने टिमलाई ३० हजार रुपियाँ, तेस्रोलाई २० हजार रुपियाँ र सान्त्वना पुरस्कार स्वरूप १० हजार रुपियाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अर्थात् सर्वाधिक गोलकर्तालाई नगद १० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यही वैशाख २६ गते सम्पन्न हुने यस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा नगरप्रमुख वासुदेव थापाले विजेता टिमहरूलाई पुरस्कृत गर्नुहुने कार्यक्रम रहेको छ । यस प्रतियोगिताले जिल्लाभित्रका फुटबल प्रेमी युवाहरूलाई आफ्ना क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्ने विश्वास लिइएको छ ।