क्रिकेट विकास र खेलाडी उत्पादनमा प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

काठमाडौँ, वैशाख २७ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा क्रिकेट खेलको जग मजबुत बनाउन र स्थानीय स्तरमै दक्ष खेलाडी उत्पादन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा विराटनगरमा आयोजित दुई दिने वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले खेलकुदको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले प्रदेशका विभिन्न नौ स्थानमा आधारभूत तहदेखि नै क्रिकेट खेलाडी उत्पादनका लागि प्रशिक्षण केन्द्र स्थापना गरिने र त्यसका लागि आगामी बजेटमा आवश्यक व्यवस्था गर्ने जानकारी दिनुभयो ।

पूर्वाधार विकासका सन्दर्भमा मुख्यमन्त्री कार्कीले भन्नुभयो, “सङ्घीय सरकारले विराटनगरस्थित बैजनाथपुरको क्रिकेट रङ्गशाला प्रदेशलाई हस्तान्तरण गरेमा हामी दुई वर्षभित्रै अत्याधुनिक र सुविधासम्पन्न रङ्गशाला निर्माण गरी सञ्चालनमा ल्याउनेछौँ।” साथै, झापाको मेची रङ्गशालामा रात्रिकालीन खेलका लागि ‘फ्लडलाइट’ जडान गर्ने र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न रातो किताबमै बजेटको व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो ।

प्रदेशको पहिचानलाई क्रिकेटसँग जोड्ने योजना सुनाउँदै मुख्यमन्त्री कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी संस्करणमा प्रदेश सरकारलाई साझेदार बनाउन क्यानलाई आग्रह गर्नुभयो। उहाँले एनपिएलको प्रथम पुरस्कारको व्यवस्था प्रदेश सरकारले गर्ने इच्छा व्यक्त गर्दै ‘विराटनगर किङ्गस’ को नाम परिवर्तन गरी ‘कोशी अर्नाज’ राख्न सुझाव समेत दिनुभयो। विकासको परिभाषालाई व्यापक बनाउँदै उहाँले भन्नुभयो, “पुल-पुलेसा र सडक मात्र विकास होइनन्; खेलकुदका माध्यमबाट रोजगारी सिर्जना गर्नु र आर्थिक गतिविधि चलायमान बनाउनु पनि वास्तविक विकास हो ।”

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङथेपले क्रिकेटले विश्वमा नेपालको शिर उँचो बनाएको चर्चा गर्दै पूर्वाधार निर्माणमा सहयोग रहने बताउनुभयो। सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले खेलकुद विकास बोर्डमा पदाधिकारी नियुक्त हुन नसक्दा केही प्राविधिक समस्या उत्पन्न भएको धारणा राख्नुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का वरिष्ठ व्यवस्थापक रोहित पोद्धारले नेपालमा आयोजना हुने अन्डर-१९ महिला क्रिकेट विश्वकपको सफलताको कामना गर्नुभयो। यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र व्यावसायिक सम्भावनाबारे प्रकाश पार्नुभएको थियो ।