झापाको सयर : किचकबधको इतिहासदेखि कचनकबलको फेदीसम्म
काठमाडौँ, वैशाख २८ । एक समय थियो, झापाको दक्षिणी भेगमा रहेका ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल पुग्न धुलाम्य र खाल्डाखुल्डी सडक छिचोल्नुपर्थ्यो । पर्यटकहरू मन भएर पनि बाटोको सास्तीले ती ठाउँ पुग्न हिचकिचाउँथे । तर, अहिले समय फेरिएको छ । कालोपत्रे सडकले गाउँ र पर्यटकीय गन्तव्य जोडेपछि नेपालकै होचो स्थान ‘कचनकबल’ र पौराणिक गाथा बोकेको ‘किचकबध’ मा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ ।
किचकबध : २२ सय वर्ष पुरानो इतिहासको जीवन्त सङ्ग्रहालय
भद्रपुर नगरपालिका-२ मा १९ बिघा क्षेत्रफलमा फैलिएको किचकबध केवल एउटा धार्मिक स्थल मात्र होइन, यो त एउटा खुल्ला सङ्ग्रहालय नै हो । महाभारतकालीन कथाअनुसार यहाँ विराट राजाको दरबार थियो र भीमसेनले पापी सेनापति किचकको बध गरेका थिए ।
यहाँको विशेष आकर्षण भनेको पुरातत्व विभागले गरेको उत्खनन हो । उत्खननका क्रममा भेटिएका माटाका भाँडावर्तन र प्राचीन संरचनाहरूको कार्बन परीक्षण गर्दा ती सामग्री २२ सय वर्ष पुराना भएको पुष्टि भएको छ । किचकबध धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइराला भन्नुहुन्छ, “पहिले बाटो अप्ठेरो छ भन्ने गुनासो आउँथ्यो, अहिले काँकरभिट्टा वा विर्तामोड जहाँबाट आए पनि कालोपत्रे सडकले किचकबधको दैलोमै पुऱ्याउँछ ।” यहाँ निर्मित २० फिट अग्लो भीम-किचकको प्रतिमा र रमणीय वनभोज स्थलले जोकोहीको मन लोभ्याउँछ ।
कचनकबल : नेपालको फेदीमा उभिएर तस्बिर
समुद्र सतहबाट मात्र ५८ मिटरको उचाइमा रहेको नेपालकै सबैभन्दा होचो स्थान ‘कचनकबल’ पुग्न पनि अब राजमार्गबाट एक घण्टाभन्दा कम समय लाग्छ। बनियानी बजारदेखि कचनकबल स्तम्भसम्मको मुख्य मार्ग अहिले कालोपत्रे भइसकेको छ ।
कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार धुलाम्य सडकको सास्ती हटेसँगै अहिले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनमा आउने पर्यटकको लस्कर लाग्ने गरेको छ । यहाँ निर्मित माछा आकारको प्रतिमा र पोखरीले पर्यटकलाई थप आकर्षित गरेको छ ।
सडकले ल्याएको खुसी, तर अझै धेरै बाँकी
सडक सुविधा पुगेपछि स्थानीय व्यवसायी र पर्यटनकर्मी उत्साहित छन् । विर्तामोडबाट घुम्न पुगेका गोपाल काफ्ले भन्नुहुन्छ, “सडकले सजिलो त बनायो, तर अब पर्यटकको बसाइ लम्ब्याउने होटल र अन्य सुविधाहरूमा अझै काम गर्नुपर्ने देखिन्छ ।”
महेन्द्र राजमार्ग (एसियाली राजमार्ग) को स्तरोन्नतिसँगै यी क्षेत्रहरू अन्तर्राष्ट्रिय पर्यटकका लागि पनि प्रमुख गन्तव्य बन्ने निश्चित छ। झापाका यी दुई रत्न— एउटा जसले नेपालको इतिहास बोकेको छ र अर्को जसले भूगोलको अन्तिम विन्दुलाई चिनाउँछ – सडकको पहुँच पुगेपछि अब नयाँ स्वरुपमा मुस्कुराइरहेका छन् ।