गुल्मीमा श्रीमान्को निर्घात कुटपिटबाट श्रीमतीको मृत्यु
गुल्मी, ३० बैशाख । गुल्मीमा श्रीमान्को निर्घात कुटपिटबाट एक महिलाको ज्यान गएको छ। जिल्लाको इस्मा गाउँपालिका–६, साहुघरका ४५ वर्षीय थम्मनबहादुर कुमालको कुटपिटबाट उनकी श्रीमती सुमित्रा कुमालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा सारुका अनुसार, मङ्गलबार साँझ मदिराको सुरमा थम्मनबहादुरले श्रीमती सुमित्रामाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उद्धार गरी राति नै उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो। तर, अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरूले राति १२ बजे उनलाई मृत घोषणा गरेका थिए।
अस्पतालको प्रारम्भिक प्रतिवेदनले कुटपिटको प्रकृति अत्यन्त क्रूर रहेको देखाएको छ। प्रतिवेदनअनुसार मृतक सुमित्राको छातीका सातवटा करङ भाँचिएका छन् भने मुख र घाँटीमा गम्भीर चोटपटक लागेको देखिएको छ।
अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेर आएका श्रीमान्ले विवादका क्रममा श्रीमतीमाथि आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनालगत्तै आरोपित थम्मनबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस विषयमा थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।