प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षीको निरन्तर अवरोध, प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित

काठमाडौँ, ३० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तरको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफ माग गर्दै विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

यसअघि आइतबारकै पहिलो बैठक पनि विपक्षी दलले सोही माग राखेर अवरुद्ध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो।

आजको बैठकमा प्रधानमन्त्री शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। तर, प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त प्रस्ताव पेस गर्न तोकिएको जानकारी गराउँदै सभामुखले वाग्लेलाई रोस्ट्रममा बोलाएलगत्तै विपक्षी सांसदहरूले विरोध सुरु गरेका थिए।

पहिलो बैठक स्थगित भएपछि सभामुख अर्यालले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरी दोस्रो बैठक सुचारु गरेका थिए। छलफलकै आधारमा अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव पेस गरे। तर, प्रस्ताव पेस भइरहँदा पनि प्रमुख प्रतिपक्षी दलका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जारी नै राखेका थिए।

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग ‘रुलिङ’ को माग गरे। यद्यपि, सभामुख अर्यालले तत्काल रुलिङ गर्न अस्वीकार गरेका छन्।

सभामुख अर्यालले आजै प्रधानमन्त्रीसँग आफ्नो छलफल तय भएको जानकारी गराउँदै उक्त संवादपछि मात्रै भोलिको कार्यसूचीबारे विपक्षी दलसँग थप छलफल गर्ने बताएका छन्। विपक्षीले उभिएर विरोध गरिरहेपछि संसद्को कारबाही अगाडि बढ्न सकेको छैन।