संसद्मा विपक्षीको अवरोधः नीति तथा कार्यक्रमको छलफलमा अनुपस्थित भएको भन्दै मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौँ, ३० बैशाख । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित भएको भन्दै विपक्षी दलका सांसदहरूले संसद्मै प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।
प्रतिनिधिसभाको आजकाे बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची तय भएको थियो। तर, सदनको यति महत्त्वपूर्ण कार्यसूचीमा प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षी सांसदहरूले आक्रोश पोख्दै संसद् अवरुद्ध गरेका हुन्।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका विषयमा प्रधानमन्त्रीले नै जवाफ दिने संसदीय अभ्यास छ। तर, आजको बैठकमा प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन लागेपछि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
सदनमा प्रधानमन्त्रीको खोजी गर्दै विपक्षी सांसदहरूले सरकार प्रमुख संसद् र जनताप्रति उत्तरदायी नभएको आरोप लगाए। संसद्लाई छलेर हिँडेको भन्दै उनीहरूले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका छन्। विपक्षीको अवरोधका कारण संसद्को नियमित कार्यसूची नै प्रभावित भएको छ।