राष्ट्रियसभामा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान र स्वदेशमै रोजगारी सिर्जना गर्न सांसदहरूको माग
काठमाडौँ, ३० बैशाख । राष्ट्रियसभाका सांसदहरूले मूल्यवृद्धि नियन्त्रण, स्वदेशमै रोजगारी सिर्जना र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। आइतबार (३० वैशाख) को राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले जनजीविका, सुशासन, रुग्ण उद्योग सञ्चालन र सामाजिक न्यायका विषयमा सरकारलाई सचेत गराएका हुन्।
बैठकमा सांसद दुर्गा गुरुङ र जयन्ती राईले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग आग्रह गरे। सांसद राईले अतिक्रमण हटाउने क्रममा विस्थापित भएका सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन्।
त्यस्तै, सांसद नरबहादुर विष्टले बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने ठोस योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए। सांसद युवराज शर्माले सुशासन कायम गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न र विकास निर्माणका कामलाई तीव्रता दिन सदन र सरकारलाई आग्रह गरे।
मुलुकका रुग्ण उद्योग सञ्चालनको विषय पनि संसद्मा गम्भीरतापूर्वक उठेको छ। सांसद कमला पन्तले राष्ट्रको गौरवका रूपमा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने तयारीबारे सरकारसँग जवाफ माग गरिन्।
यसैगरी, सांसद भुवनबहादुर सुनारले समाजमा बढ्दै गएका जातीय विभेदका घटना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे। सांसद राजेन्द्रलक्ष्मी गैरेले जनस्वास्थ्यको क्षेत्रमा संवेदनशील बन्न सरकारलाई सुझाव दिइन् भने सांसद नारायणदत्त मिश्रले नागरिक अधिकार र लोकतन्त्रको रक्षाका लागि सरकारको स्पष्ट प्रतिबद्धता माग गरे।
शून्य समयमै बोल्दै सांसद मदनकुमारी शाह (गरिमा) ले संसद्को अवमूल्यन गर्ने छुट कसैलाई नभएको भन्दै सचेत गराइन्। त्यस्तै, सांसद सोनाम गेल्जेन शेर्पाले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै हुने ट्राफिक नियम उल्लङ्घनलाई निरुत्साहित गर्नुपर्ने भन्दै नियम तोड्ने सवारीसाधनलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे।