नेप्सेमा सामान्य अङ्कको गिरावट, कारोबार रकम खुम्चिएर पौने ३ अर्बमा सीमित

काठमाडौँ, ३० बैशाख । शेयर बजार बुधबार पनि घटेर बन्द भएको छ। अघिल्लो दिन (मङ्गलबार) ओरालो लागेको बजारले बुधबार पनि सोही गतिलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से परिसूचक ४.१५ अङ्कले घटेर २७४०.२५ विन्दुमा झरेको छ। समग्र नेप्सेसँगै यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.७० अङ्क, फ्लोट इण्डेक्स ०.३६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अङ्कले ओरालो लागेको छ।

बजार घटेसँगै यस दिन कारोबार रकम पनि खुम्चिएको छ। मङ्गलबार ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बुधबार जम्मा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३३९ वटा कम्पनीका ५६ हजार ४३ हजार कित्ता सेयर ४२ हजार १७६ पटक खरिदबिक्री भएका थिए।

बजार घटे पनि बुधबार एशियन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशतले बढेको छ। त्यस्तै, एसवाई प्यानल नेपालको सेयरमूल्य साढे ४ प्रतिशतले बढेको छ भने अन्य कम्पनीको वृद्धिदर त्योभन्दा कम छ।

यता, धौलागिरि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यस संस्थाको सेयरमूल्य ११.१७ प्रतिशतले घटेको छ। त्यसैगरी, झापा इनर्जीको सेयरमूल्य पनि करिब साढे ९ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा बुधबार एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको २७ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसैगरी, रिडी पावर कम्पनीको करिब १० करोड र साहस ऊर्जाको साढे ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

नेप्सेमा कारोबार हुने १३ वटा उपसमूहमध्ये बुधबार ११ वटा उपसमूहको परिसूचक घटेको छ भने दुईवटाको मात्रै बढेको छ। व्यापार उपसमूह सर्वाधिक १.५० प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ। यता बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, म्युचुअल फण्ड, लगानी र अन्य उपसमूहको परिसूचक भने घटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *