आगामी बजेट डिजिटल अर्थतन्त्र र सुशासनमा केन्द्रित हुने : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ, वैशाख ३०  । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्र, इ-गभर्नेन्स र सुशासनलाई प्राथमिकतामा राखेर ल्याइने घोषणा गर्नुभएको छ । कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘कान्तिपुर इकोनमिक समिट’लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमकै जगमा जनअपेक्षा सम्बोधन गर्ने गरी बजेट निर्माण भइरहेको जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले निर्वाचनका समयमा गरिएका प्रतिबद्धता र वाचापत्रलाई मुख्य आधार बनाइएको उल्लेख गर्दै सुशासनलाई सरकारको पहिलो कार्यसूचीमा राखिएको बताउनुभयो । “हाम्रो मुख्य उद्देश्य जनतालाई सुशासनको लाभांश प्रत्यक्ष रूपमा दिलाउनु र आर्थिक उन्नयनको मार्ग प्रशस्त गर्नु हो,” उहाँले भन्नुभयो ।

डिजिटल रूपान्तरणलाई जोड दिँदै मन्त्री वाग्लेले आगामी बजेटले ‘डिजिटल डेलिभरी’ र डिजिटल अर्थतन्त्रको विकासमा विशेष ध्यान दिने स्पष्ट पार्नुभयो । सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोगलाई व्यापक बनाइने उहाँको भनाइ थियो । साथै, सूचना तथा प्रविधि क्षेत्रसँग सम्बन्धित सम्पूर्ण रणनीतिक कार्यहरू अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै एकीकृत रूपमा हेरिने जानकारी समेत उहाँले दिनुभयो ।

अर्थतन्त्रको विद्यमान संरचनामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै अर्थमन्त्रीले आयातमा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी दिशामा पुनर्संरचना गरिने बताउनुभयो । सरकारी खर्चमा मितव्ययिता कायम गर्ने र आवश्यकताका आधारमा मात्र विदेशस्थित नेपाली नियोगहरू सञ्चालन गर्ने नीति सरकारले लिने उहाँको कथन थियो ।

कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले सुशासन सरकारको सर्वोच्च प्राथमिकता रहेको दोहोर्‍याउँदै निजी क्षेत्रको खस्किएको आत्मबल बढाउन नीतिगत सुधारका कार्यहरू अघि बढाइने बताउनुभयो ।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने भन्दै व्यवसायीहरूलाई सुरक्षा र लगानीमैत्री वातावरणको प्रत्याभूति गराउन सरकारसँग माग गर्नुभयो ।