१८ चर्चित सुन्दरी एउटै र्याम्पमा: स्वस्तिमादेखि मिस नेपाल श्रीच्छासम्मको ‘वाक’
काठमाडौँ, १ जेठ । नेपाली चलचित्र र मोडलिङ क्षेत्रका १८ चर्चित सेलिब्रेटीहरू एउटै स्टेजमा देखिने भएका छन्। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा शुक्रबार साँझ आयोजना हुन लागेको ‘आईईसी डिजाइनर रनवे–१५’ मा उनीहरूले आफ्नो जादु छर्नेछन्।
यस भव्य फेसन शोमा अभिनेत्रीहरू स्वस्तिमा खड्का, आँचल शर्मा, नीति शाह, शिल्पा मास्के, आना शर्मा, मलिका महत र अदीति अधिकारीले आकर्षक पहिरनमा र्याम्प वाक गर्नेछन्। त्यस्तै, मिस नेपाल श्रीच्छा प्रधान, अस्मी श्रेष्ठ, आस्था पोखरेल, सबिता कार्की, कविता नेपाली, हिमान्चल राज केसी, इभा गिरी, दीपशिखा नेपाल र प्रेमा लमगाडे लगायतका स्थापित मोडल तथा सेलिब्रेटीहरूको पनि विशेष प्रस्तुति रहनेछ।
आईईसी कलेजको आयोजनामा हुन लागेको यो १५औँ संस्करणको रनवेमा ६६ जनाभन्दा बढी विद्यार्थी डिजाइनरहरूले तयार पारेका १७ वटा विभिन्न फेसन सिक्वेन्सहरू प्रदर्शन गरिनेछ। यी आकर्षक पहिरनहरूलाई १८ सेलिब्रेटीका साथै ३० जना व्यावसायिक मोडलहरूले र्याम्पमा प्रस्तुत गर्नेछन्।
यसपटकको शोलाई थप उत्कृष्ट बनाउन भारतका चर्चित कोरियोग्राफर यतिन गान्धीले कोरियोग्राफी गरिरहेका छन्। कार्यक्रमको व्यवस्थापन ‘नेक्स्ट मोडल्स नेपाल’ले सम्हालेको छ। नेक्स्ट मोडल्सका सीईओ रवि धमलाका अनुसार यसपटकको रनवेलाई नेपाली फेसनकै इतिहासमा एक नमूना शोका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।
आईईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली डिजाइनरहरूको सिर्जना र कलालाई विश्वस्तरमा चिनाउन तथा नेपाली फेसन जगतलाई नयाँ उचाइ दिन यो कार्यक्रम महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरिन्। शुक्रबारको यो भव्य समारोहमा फेसन प्रेमी र कला क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।