रामकृष्ण श्रेष्ठ दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिवमा निर्वाचित
काठमाडौँ, जेठ १ गते । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ दक्षिण एसियाली भारोत्तोलन महासंघका महासचिवमा निर्वाचत हुनुभएको छ । श्रेष्ठ नेपाल ओलम्पिक कमिटी (एनओसी)का पनि सचिव हुनुहुन्छ ।
भारतको गुजरातस्थित गान्धीनगरमा भएको एसियन भारोत्तोलन महासंघको साधारण सभाले श्रेष्ठलाई दक्षिण एसियाली भारोत्तोलन महासंघका महासचिवमा चयन गरेको हो । सो साधारणसभाबाट भारतका डा. सहदेव यादव अध्यक्ष चुनिनुभयो । उहाँ भारत भारोत्तोलन महासंघका अध्यक्ष हुनुहुन्छ । यसैगरी माल्दिभ्सका इब्राहिम हामिद प्रथम उपाध्यक्ष र श्रीलङ्काका सन्का रत्नायके उपाध्यक्षको जिम्मेवारी पाउनुभयो ।
दक्षिणएसियाली भारोत्तोलन महासंघको महासचिवमा चयन भएपछि श्रेष्ठले आफूले पाएको यो जिम्मेवारीलाई नेपाली भारोत्तोलनको विकासमा प्रयोग गर्ने बताउनुभयो । ‘नेपाली भारोत्तोलनका लागि धेरैभन्दा धेरै एक्सपोजरको खोजी गर्नेछु । अहिलेका लागि दोस्रो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगता नेपालमा आयोजनाको दावी गरेको छु । जसमा सबै सहमत पनि भएका छन्’ उहाँले भन्नुभयो ।