विद्यार्थीलाई व्यावहारिक सिप सिकाउन मुक्तिधाम माविद्वारा व्यावसायिक तरकारीखेती विस्तार

काठमाडौँ, जेठ २ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२, भगवतीस्थित मुक्तिधाम माध्यमिक विद्यालयले विद्यार्थीहरूमा प्रयोगात्मक सिप विकास गर्ने उद्देश्यले व्यावसायिक तरकारी खेती विस्तार गरेको छ । कृषि प्राविधिक धारमा अध्ययनरत विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावसायिक कार्यक्षमता अभिवृद्धि गराउन विद्यालयले यो पहल थालेको हो ।

विद्यालयले वार्षिक २५ हजार रुपियाँ भाडा तिर्ने गरी चार रोपनी जमिनमा तरकारी खेती सुरु गरेको छ। यसबाट उत्पादित तरकारी विद्यालयको चमेनागृह र छात्रावासमा खपत हुनुका साथै अतिरिक्त उत्पादन बिक्री गरी विद्यार्थीहरूले आफ्नो खाजा खर्च समेत जुटाउने गरेका छन् । प्रधानाध्यापक अमरबहादुर खत्रीका अनुसार यो कार्यक्रमले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न र व्यावसायिक कृषि प्रणाली बुझ्न ठूलो सहयोग पुर्‍याएको छ ।

“कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक विषय पढ्ने ५० जना विद्यार्थी प्रयोगात्मक अभ्यासमा प्रत्यक्ष संलग्न छन्,” प्रधानाध्यापक खत्रीले भन्नुभयो, “यसबाट उनीहरूले व्यावहारिक ज्ञान मात्र पाएका छैनन्, विद्यालयको चमेनागृह र छात्रावासका लागि आवश्यक तरकारी समेत आफ्नै उत्पादनले पुगेको छ ।”

विद्यालयको करेसाबारीमा हाल काउली, बन्दा, टमाटर, साग, सिमी, करेला, अकबरे खुर्सानी, ब्रोकाउली र जुकेनी जस्ता मौसमी तथा बेमौसमी तरकारी फलाइएको छ । बिरुवा उत्पादनका लागि तीनवटा प्लास्टिक टनेल निर्माण गरिएको छ भने विद्यालयमै ‘सिताके’ जातको च्याउखेती समेत सुरु गरिएको छ ।

कृषि प्रशिक्षक गणेश चोखालका अनुसार विद्यालयले वातावरणीय स्वच्छतालाई ध्यानमा राख्दै गँड्यौला मल (भर्मी कम्पोस्ट) को प्रयोगलाई प्राथमिकता दिएको छ। विद्यालयबाट निस्कने फोहोर, पुराना कागज र च्याउखेतीमा प्रयोग भएको पराललाई कुहाएर प्राङ्गारिक मल बनाउने गरिएको छ ।

प्रयोगात्मक शिक्षाको प्रभावकारिताबारे विद्यार्थी रेजिना भण्डारी भन्छिन्, “कक्षाकोठामा पढेका कुराहरू फिल्डमा काम गर्दा बुझ्न र सम्झन धेरै सजिलो भएको छ।”

वि.सं. २००६ मा स्थापित यस विद्यालयले २०७२ सालदेखि कृषि प्राविधिक विषयको पठनपाठन सुरु गरेको थियो । हाल ३५० जना विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा गुणस्तरीय शिक्षाका कारण निजी तथा अन्य सहरका विद्यालय छाडेर आउने विद्यार्थीको सङ्ख्या समेत बढ्दै गएको छ । पछिल्लो समय विद्यालयमा सङ्घीय सरकारको सहयोगमा छात्रावास र गाउँपालिकाको सहयोगमा सभाहल जस्ता भौतिक पूर्वाधारहरू समेत निर्माण गरिएका छन् ।