काठमाडौँ महानगरको छात्रवृत्तिमा नयाँ युग : अपाङ्गता भएका अभिभावकका सन्ततिलाई पनि कोटा, यस्तो छ पूर्ण कार्यविधि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति वितरण प्रक्रियालाई थप समावेशी, वैज्ञानिक र न्यायोचित बनाउन नयाँ ‘छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८३’ कार्यान्वयनमा ल्याएको छ । जेठ ३ गते सम्पन्न कार्यपालिकाको ४९ औँ बैठकले पारित गरेको यस कार्यविधिले वर्षौँदेखि कायम परम्परागत छात्रवृत्ति प्रणालीमा व्यापक सुधार गर्दै नयाँ मापदण्डहरू तय गरेको हो ।

यसपटकको कार्यविधिमा सबैभन्दा उल्लेख्य पक्ष भनेको अपाङ्गता भएका अभिभावकका बालबालिका र संरक्षित परिवारका बालबालिकालाई पनि आरक्षित समूहमा समावेश गरिनु हो । यसअघि केवल नीतिगत आधारमा वितरण गरिँदै आएको छात्रवृत्तिलाई अब कानुनी रूपमै व्यवस्थित र स्वचालित बनाइएको छ ।

विद्यालयको आकार अनुसार छात्रवृत्ति कोटा

यसअघि सबै निजी विद्यालयले अनिवार्य १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । तर, नयाँ कार्यविधिले विद्यार्थी संख्याका आधारमा यसलाई वैज्ञानिक वर्गीकरण गरेको छ । 

  • ५ सय सम्म विद्यार्थी भएका विद्यालय : न्यूनतम १० प्रतिशत छात्रवृत्ति 

  • ५ सयदेखि ८ सय सम्म विद्यार्थी भएका विद्यालय : न्यूनतम १२ प्रतिशत छात्रवृत्ति 

  • ८ सयभन्दा बढी विद्यार्थी भएका विद्यालय : न्यूनतम १५ प्रतिशत छात्रवृत्ति 

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ को मर्म बमोजिम यो वर्गीकरण गरिएको हो ।

कसले कति पाउँछन् कोटा ? (विभाजनको गणित)

महानगरले छात्रवृत्तिलाई विभिन्न समूहमा विभाजन गरेको छ ।

  • सामुदायिक विद्यालयका विद्यार्थी : कुल छात्रवृत्तिको ३५ प्रतिशत 

  • महानगरभित्रका स्थायी बासिन्दा (सामुदायिक र संस्थागत दुवै) : १९ प्रतिशत 

  • संस्थागत विद्यालयका विद्यार्थी (जुलाई स्थानका) : १० प्रतिशत 

  • ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दा : १ प्रतिशत 

आरक्षित ३५ प्रतिशतभित्रको आन्तरिक आरक्षण
सामुदायिक विद्यालयका लागि छुट्याइएको ३५ प्रतिशत सिटलाई शतप्रतिशत मानी देहाय बमोजिम उप-वर्गमा बाँडिनेछ:

छात्रालाई ३३ प्रतिशत , खस आर्यलाई १७ प्रतिशत , आदिवासी जनजातिलाई १५ प्रतिशत,  मधेशीलाई १२ प्रतिशत, दलितलाई  ९ प्रतिशत, थारुलाई ४ प्रतिशत, पिछडिएको क्षेत्रलाई ४ प्रतिशत, मुस्लिमलाई  २ प्रतिशत, अपाङ्गता भएका व्यक्तिलाई २ प्रतिशत, शहीद/बेपत्ता/द्वन्द्व पीडित परिवारलाई २ प्रतिशत कोटा प्रदान गरिएको छ ।

परीक्षा प्रणाली र पाठ्यक्रम

छात्रवृत्ति छनोटका लागि लिइने परीक्षालाई उच्च प्रविधियुक्त र पारदर्शी बनाइनेछ ।

  • पूर्णाङ्क र उत्तीर्णाङ्क : परीक्षा १०० पूर्णाङ्कको बहुवैकल्पिक हुनेछ । उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्नेछ ।

  • नकारात्मक अंक : गलत उत्तरका लागि अंक कट्टा गरिने छैन ।

  • विषयगत भार : विज्ञान र गणितलाई ३०/३० प्रतिशत, सामाजिक अध्ययनलाई २० प्रतिशत तथा अंग्रेजी र नेपालीलाई १०/१० प्रतिशत अंकभार दिइएको छ ।

  • प्रविधि : उत्तरपुस्तिका परीक्षणमा आधुनिक ओएमआर  प्रविधिको प्रयोग गरिनेछ ।

आवेदन प्रक्रिया र आवश्यक कागजात

विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । आवेदनका साथमा एसईईको ग्रेडसिट, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकता वा जन्म दर्ताको प्रमाणपत्र अपलोड गर्नुपर्नेछ । आरक्षित समूहमा दाबी गर्नेले सम्बन्धित निकाय (वडा कार्यालय, जिल्ला प्रशासन वा सम्बन्धित आयोग) बाट प्रमाणित कागजात अनिवार्य पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । झुटो विवरण पेश गरेको पाइएमा जुनसुकै बखत नाम हटाई कानुनी कारबाही गरिने व्यवस्था छ ।

भर्ना र म्याचिङ प्रक्रिया

विद्यार्थीको योग्यताक्रम र उनले रोजेको विद्यालयको प्राथमिकताका आधारमा ‘अनलाइन म्याचिङ’ मार्फत नतिजा प्रकाशन गरिनेछ ।

  • तीन चरणको नतिजा : पहिलो, दोस्रो र तेस्रो चरणसम्म म्याचिङ हुनेछ ।

  • अन्तिम अवसर : तीनै चरणमा पनि भर्ना नभई रिक्त रहेका सिटहरूमा पुनः विद्यालय र विषय छनोटको अवसर दिई अन्तिम मनोनयन गरिनेछ ।

  • निःशुल्क अध्ययन : महानगरबाट सिफारिस भएका विद्यार्थीसँग विद्यालयले सरकारी दस्तुर बाहेक अन्य कुनै पनि शीर्षकमा शुल्क लिन पाउने छैनन् ।

संरचना र अनुगमन

छात्रवृत्ति वितरणलाई व्यवस्थित गर्न शिक्षा अधिकारीको अध्यक्षतामा एक ‘छात्रवृत्ति समिति’ रहनेछ । यस समितिले परीक्षा सञ्चालन, प्रश्नपत्र निर्माण र नतिजा प्रकाशनको जिम्मेवारी वहन गर्नेछ । समितिको कामको निरीक्षण र सुनुवाइ भने महानगरको शिक्षा तथा स्वास्थ्य समितिले गर्नेछ ।

कार्यविधि मस्यौदा कार्यदलका सदस्य सचिव सुशिल सुवेदीका अनुसार यो कार्यविधि अत्यन्तै ‘प्रोग्रेसिभ’ र न्यायपूर्ण छ । यसले जेहेन्दार तर आर्थिक वा सामाजिक रूपमा पछाडि परेका विद्यार्थीहरूलाई काठमाडौँका गुणस्तरीय शिक्षण संस्थामा निःशुल्क पढ्ने ढोका खोल्ने विश्वास गरिएको छ ।