विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा छलफल जारी

काठमाडौँ,  जेठ ४ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि प्रतिनिधिसभामा सुरु भएको छलफल भोलि पनि जारी रहने भएको छ ।

आजको बैठकमा सो प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने क्रम नसकिएकाले भोलि जेठ ५ गते मङ्गलबार बस्ने बैठकमा पनि छलफललाई निरन्तरता दिइने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदनसमक्ष आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। आजको बैठकमा सांसदहरूले उक्त प्रस्तावका विभिन्न पक्षमाथि आ–आफ्नो धारणा राख्नुभएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको छ। सो छलफलमा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको जवाफ अर्थमन्त्री वाग्लेले आगामी बुधबारको बैठकमा दिनुहुने कार्यसूची रहेको छ ।