विश्वकपका लागि ब्राजिलको टोली घोषणा: ३४ वर्षीय नेयमारको पुनरागमन, जोआओ पेड्रो ‘आउट’
काठमाडौँ, ५ जेठ । ब्राजिलले आगामी महिनाबाट सुरु हुने फिफा विश्वकपका लागि आफ्नो २६ सदस्यीय टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले घोषणा गरेको टोलीमा स्टार स्ट्राइकर नेयमारले पुनरागमन गरेका छन्।
सन् २०२३ देखि चोटका कारण राष्ट्रिय टोली ‘सेलेसाओ’ बाट बाहिर रहेका ३४ वर्षीय नेयमारलाई प्रशिक्षक एन्सेलोटीले विश्वास जिताएका हुन्। हाल ब्राजिलियन क्लब सान्तोसबाट व्यावसायिक फुटबल खेलिरहेका नेयमार ब्राजिलका लागि सर्वाधिक गोलकर्ता (७९ गोल) हुन्। यो उनको करियरको चौथो विश्वकप हुनेछ।
रियो दि जेनेरियोमा आयोजित विशेष कार्यक्रममा टोली घोषणा गर्दै प्रशिक्षक एन्सेलोटीले भने, “हामीले वर्षभरि नेयमारको विश्लेषण गर्यौं। उनी शारीरिक रूपमा फिट छन् र पछिल्लो समय क्लबबाट निरन्तर खेलिरहेका छन्।”
को–को परे, को बाहिरिए?
लिभरपुलका गोलरक्षक एलिसन बेकर चोटका बाबजुद टोलीमा अटाएका छन्। त्यस्तै, रियल म्याड्रिडका भिनिसियस जुनियर र बार्सिलोनाका राफिन्हा पनि टोलीको अग्रपङ्क्तिमा छन्।
यसपटक प्रिमियर लिग स्टारहरूको बाहुल्यता देखिएको छ। टोलीमा कासेमिरो, माथेउस कुन्हा, ब्रुनो गिमारेस, गाब्रिएल मागाल्हाएस, इगोर थियागो र रायन जस्ता खेलाडीहरू समावेश छन्।
तर, यस सिजन चेल्सीका लागि प्रिमियर लिगमा १५ गोल गरेका जोआओ पेड्रो भने टोलीमा पर्न सकेनन्। उनलाई बाहिर राख्नुलाई धेरैले आश्चर्यको रूपमा हेरेका छन्।
संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने ४८ टोली सहभागी विस्तारित विश्वकप जुन ११ देखि सुरु हुँदैछ। पाँच पटकको विजेता ब्राजिल समूह ‘सी’ मा रहेको छ।