आइसिसी विश्वकप लिग-२: अमेरिकालाई १७० रनको लक्ष्य, रुशिल र सौरभको घातक बलिङ

काठमाडाैं, ६ जेठ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा स्कटल्यान्डले अमेरिकालाई जितका लागि १७० रनको मध्यम लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्ड ४३.३ ओभरमा १६९ रनमै समेटिएको हो। स्कटल्यान्डका लागि तल्लो क्रमका ब्याट्सम्यान मार्क वाटले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ६६ रनको महत्वपूर्ण पारी खेले। उनले ८५ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे।
स्कटल्यान्डको सुरुवात कमजोर रहे पनि ब्रान्डन म्याकमुलनले ३२, म्याथ्यु क्रसले २० र जर्ज मुन्सेले १९ रन जोडेर टोलीको स्कोर उकास्ने प्रयास गरेका थिए। अन्य ब्याट्सम्यानहरूले भने दोहोरो अङ्कको स्कोर छुन सकेनन्।

बलिङतर्फ अमेरिकाका बलरहरूले निकै कसिलो प्रदर्शन गरे। रुशिल उगारकरले घातक बलिङ गर्दै एक्लैले ४ विकेट झारे। यस्तै, अनुभवी बलर सौरभ नेत्रावलकरले ३ विकेट लिए भने शुभम रञ्जनेले २ र हरमित सिंहले १ विकेट हात पारे।

स्कटल्यान्डले दिएको १७० रनको लक्ष्य पछ्याउँदै अमेरिकाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिन अमेरिकालाई यो खेल जित्नैपर्ने दबाब छ भने स्कटल्यान्ड आफ्नो शीर्ष स्थान सुरक्षित राख्न चाहन्छ।