नेप्सेमा ३० अङ्कको उत्साहजनक सुधार, कारोबार रकम पौने ४ अर्ब नाघ्यो

काठमाडौँ, ६ जेठ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागिरहेको धितोपत्र बजारमा बुधबार भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३०.०८ अङ्कले बढेर २७५४.४८ विन्दुमा पुगेर बन्द भएको हो ।

नेप्सेमा देखिएको वृद्धिसँगै आज सेन्सेटिभ इण्डेक्स ३.६८ अङ्क, फ्लोट इण्डेक्स १.९१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अङ्कले बढेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । मङ्गलबार ३ अर्ब ८ करोड रुपैयाँको शेयर किनबेच भएकोमा बुधबार ३४६ कम्पनीको ५२ हजार ३३६ पटकको कारोबारमा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ ।

आजको बजारमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर ७३ रुपैयाँ २० पैसाले बढेर ५६१ रुपैयाँ २० पैसा कायम भएको छ । यस्तै, माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य करिब १२ प्रतिशत र बुङ्गल हाइड्रोको मूल्य साढे ७ प्रतिशतले बढेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक १३.२६ प्रतिशतले घटेको छ । यद्यपि, कारोबार रकमका आधारमा सोही बैंक शीर्ष स्थानमा रह्यो । बैंकको आज १८ करोड ३५ लाख १३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो । यस्तै, आँखु खोला जलविद्युतको १८ करोड र अपि पावरको ११ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेर बन्द भएको छ । जसमध्ये होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशतले बढेको छ । यस्तै वित्त, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको नेप्सेले जनाएको छ ।