हुम्लाको अदानचुलीमा ढुङ्गा लागेर एक बालकको मृत्यु
काठमाडौँ, जेठ ६ । हुम्लाको अदानचुली गाउँपालिका–६, पाल्स गाउँमा ढुङ्गा लागेर घाइते भएका १३ वर्षीय बालक हस्त भियालको उपचारका क्रममा मृत्यु भएको छ ।
गत जेठ ५ गते शनिबार साँझ घरबाट कालागाडस्थित पसलमा जाने क्रममा भियाललाई माथिबाट खसेको ढुङ्गाले लागेको थियो। ढुङ्गा लाग्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, घाइते बालकलाई तत्काल उद्धार गरी उपचारका लागि अदानचुली गाउँपालिकास्थित श्रीनगर स्वास्थ्य चौकी पुर्याइएको थियो। स्वास्थ्य चौकीमा उपचारकै क्रममा उनको निधन भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर खड्काले जानकारी दिनुभयो ।
घटनाको विस्तृत अनुसन्धानका लागि सदरमुकाम सिमकोटबाट प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वमा एक टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। मृतकको शव परीक्षण (पोस्टमार्टम) का लागि अदानचुली गाउँपालिकाको एम्बुलेन्समार्फत बाजुराको कोल्टीस्थित सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।