काठमाडौँको गोठाटारमा पेस्तोलसहित धरानका युवक पक्राउ, गाडीको सिटमुनि लुकाएको हतियार फेला

काठमाडौँ, ६ जेठ । काठमाडौँको गोठाटारबाट प्रहरीले म्याग्जिनसहितको एक थान पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पहेँलो पुल नजिकैबाट सुनसरीको धरान उपमहानगरपालिका–१७ का २३ वर्षीय सन्दीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार, गोठाटार क्षेत्रमा हातहतियार लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा मङ्गलबार विशेष टोली परिचालन गरिएको थियो।

सोही क्रममा प्रहरीले बाटोमा बिग्रिएर थन्किएको बा ४ ख ५२४१ नम्बरको आइशर गाडीभित्र खानतलासी गर्दा गाडीको सिटमुनि लुकाएर राखिएको म्याग्जिनसहितको पेस्तोल फेला पारेको हो। हतियार फेला परेपछि प्रहरीले परियारलाई जरुरी पक्राउ पुर्जी दिई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका परियारलाई हातहतियार सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको एसपी कार्कीले जानकारी दिनुभयो। प्रहरीले उक्त हतियार कुन उद्देश्यले काठमाडौँ ल्याइएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको जनाएको छ।