ब्रह्माण्डको महाटक्कर: आइन्स्टाइन र हकिङका दशकौँ पुराना भविष्यवाणी प्रमाणित

 

काठमाडौँ (एजेन्सी), ६ जेष्ठ ।  खगोलशास्त्रीहरूले दुई विशाल ‘ब्ल्याक होल’ (कृष्ण विवर) बीच भएको टक्करको अभूतपूर्व विवरण सार्वजनिक गरेका छन्। यस खोजले महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र स्टिफन हकिङले दशकौँ पहिले गरेका जटिल गणितीय भविष्यवाणीहरूलाई सही सावित गरिदिएको छ।

सन् २०२५ को जनवरीमा वैज्ञानिकहरूले ‘लेजर इन्टरफेरोमिटर ग्रेभिटेसनल-वेभ अब्जर्भेटरी’  मार्फत नामक घटना पत्ता लगाएका थिए। दुईवटा ब्ल्याक होल एक-आपसमा ठोक्किँदा अन्तरिक्ष-समय मा उत्पन्न भएको गुरुत्वाकर्षण तरंगलाई अमेरिकाको लुजियाना र वासिङ्टनमा रहेका अत्याधुनिक उपकरणले रेकर्ड गरेका थिए।

आइन्स्टाइनको सापेक्षतावाद र ‘घण्टी’ को आवाज
सन् १९१५ मा अल्बर्ट आइन्स्टाइनले आफ्नो ‘सापेक्षतावादको सिद्धान्त’ मा गुरुत्वाकर्षण तरंगको परिकल्पना गरेका थिए। उनलाई लागेको थियो कि यी तरंगहरू यति सुक्ष्म हुनेछन् कि मानिसले कहिल्यै पत्ता लगाउन सक्ने छैन। तर, सन् २०१५ मा पहिलो पटक यस्तो तरंग पुष्टि भयो र त्यसको १० वर्षपछि अहिलेको खोजले त्यसलाई अझ स्पष्ट पारेको छ।

कोलम्बिया विश्वविद्यालयका सह-प्राध्यापक म्याक्सिमिलियानो इसीका अनुसार, सूर्यको पिण्डभन्दा ३० देखि ३५ गुणा ठूला दुई ब्ल्याक होलहरू एक-अर्काको परिक्रमा गर्दै ठोक्किएर एउटै बनेका थिए। यसबाट बनेको नयाँ ब्ल्याक होल सूर्यभन्दा ६३ गुणा ठूलो छ।

वैज्ञानिकहरूले यस टक्करलाई एउटा ‘घण्टी’ सँग तुलना गरेका छन्। इसी भन्छन्, “जसरी एउटा घण्टीलाई मार्तोलले हान्दा त्यसमा कम्पन र आवाज निस्कन्छ, त्यसैगरी ब्ल्याक होल ठोक्किँदा पनि गुरुत्वाकर्षण तरंगको ‘ध्वनि’ पैदा हुन्छ।” यस पटकको अत्याधुनिक उपकरणले उक्त कम्पनमा दुईवटा फरक ‘स्वर’  हरू स्पष्टसँग पहिचान गरेको छ, जसले ब्ल्याक होलको बनावटबारे आइन्स्टाइनको सिद्धान्तलाई पूर्ण रूपमा पुष्टि गर्दछ।

हकिङको ‘क्षेत्रफल सिद्धान्त’ प्रमाणित
यो खोजले सन् १९७१ मा स्टिफन हकिङले प्रतिपादन गरेको ‘सर्फेस एरिया थ्योरम’ (सतहको क्षेत्रफलसम्बन्धी सिद्धान्त) लाई पनि ठोस आधार दिएको छ। हकिङका अनुसार दुईवटा ब्ल्याक होल ठोक्किएर एउटा बन्दा त्यसको अन्तिम सतहको क्षेत्रफल सुरुका दुईवटा ब्ल्याक होलको कुल क्षेत्रफलभन्दा बढी वा बराबर हुनुपर्छ, तर कम हुनुहुँदैन।

नयाँ तथ्याङ्कले हकिङको यो दाबीलाई शतप्रतिशत सही प्रमाणित गरेको छ। सन् २०१८ मा निधन भएका हकिङको यो सिद्धान्त पुष्टि हुँदा वैज्ञानिक जगतमा उत्साह छाएको छ। नोबेल पुरस्कार विजेता वैज्ञानिक किप थोर्नका अनुसार हकिङ जीवितै भएको भए यो नतिजा देखेर निकै हर्षित हुने थिए।

खगोल विज्ञानमा नयाँ युगको सुरुवात
विगत १० वर्षमा का लेजर र ऐनाहरूलाई अत्याधुनिक बनाइएकाले अहिलेको अवलोकन १० वर्ष अघिको तुलनामा तीन गुणा बढी स्पष्ट रहेको बताइएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका भौतिकशास्त्रका प्राध्यापक इमानुएल बर्टीले यसलाई “श्रवण यन्त्रको सुधार” सँग तुलना गरेका छन्। उनले भने, “हाम्रो सुन्ने क्षमता (उपकरण) यति बलियो भएको छ कि हामीले ब्रह्माण्डका ती सुक्ष्म आवाजहरूलाई स्पष्टसँग सुन्न र गुरुत्वाकर्षणका आधारभूत सिद्धान्तहरू परीक्षण गर्न सफल भएका छौँ।”

यो सफलताले भौतिकशास्त्रको ठूलो चुनौती— आइन्स्टाइनको गुरुत्वाकर्षण सिद्धान्त र क्वान्टम मेकानिक्सलाई जोड्ने प्रयासमा नयाँ ढोका खोलेको विज्ञहरूको विश्वास छ। चिलीस्थित युनिभर्सिटी एन्ड्रेस बेलोकी म्याकारेना लागोसका अनुसार, यो खोजले भविष्यमा अन्तरिक्ष र समयको बुझाइलाई अझ गहिराइमा पुर्‍याउन मार्गप्रशस्त गरेको छ।

(यो अध्ययन बुधबार प्रसिद्ध वैज्ञानिक जर्नल ‘फिजिकल रिभ्यु लेटर्स’ मा प्रकाशित भएको छ।)