बुढानीलकण्ठमा ‘ज्योति’ छर्ने अभियान : निःशुल्क शिविरले ल्याएको खुसीयाली

काठमाडौँ, जेठ ६  । “आँखा विनाको संसार अन्धकार हुन्छ र दृष्टि पाउनु भनेको नयाँ जीवन पाउनु सरह हो ।” यही मानवीय भावनालाई आत्मसात् गर्दै बुढानीलकण्ठ अस्पतालले तिलगंगा आँखा प्रतिष्ठानसँगको प्राविधिक सहकार्यमा दुई दिने बृहत् निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । नगरबासीको स्वास्थ्यलाई सर्वोपरी ठान्दै आयोजना गरिएको यस शिविरमा नगरका विभिन्न भेगबाट आएका सेवाग्राहीहरूले निःशुल्क आँखा परीक्षण, औषधि र चस्मा प्राप्त गरेका छन् ।

बुढानीलकण्ठ नगर अस्पतालमा आयोजित उक्त विशेष शिविरको अवलोकन गर्नुहुँदै नगरप्रमुख मिठाराम अधिकारीले नगरबासीको स्वास्थ्यमा पहुँच वृद्धि गर्नु नगरपालिकाको मुख्य प्राथमिकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसका लागि आँखा सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो । आँखामा समस्या हुँदा जीवन नै कष्टकर बन्ने भएकाले हामीले नगरभित्रका नागरिकहरूको दृष्टि बचाउन र स्वास्थ्य समस्या पहिचान गर्न यो शिविरलाई विशेष महत्त्व दिएका छौँ ।” उहाँका अनुसार, आगामी दिनमा पनि यस्ता जनमुखी स्वास्थ्य सेवाहरूलाई निरन्तरता दिइने योजना रहेको छ ।

नगरबासीको स्वास्थ्य सरोकारका विषयमा नगरपालिका सदैव सचेत रहेको चर्चा गर्नुहुँदै वडा नं. १२ का वडा अध्यक्ष शम्भु भट्टराईले यस्ता शिविरले विपन्न र पहुँच नभएका नागरिकलाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले सधैँ विशेष चासो राख्दै आएको स्मरण गराउनुभयो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलले अस्पतालको २४ घण्टे आकस्मिक सेवासँगै समुदायका लागि विशेष स्वास्थ्य कार्यक्रमअन्तर्गत यो शिविर आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उमेरका कारण वा अन्य स्वास्थ्य जटिलताले आँखामा समस्या देखिएका नागरिकलाई हामीले निःशुल्क सेवा प्रदान गरिरहेका छौँ । शिविरमा पहिचान भएका मोतिविन्दुका बिरामीहरूको आगामी जेठ १३ गते निःशुल्क शल्यक्रिया गरिने प्रबन्ध मिलाइएको छ ।”

शिविरमा प्राविधिक नेतृत्व गरिरहनुभएका तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत महेश पराजुलीले ४० वर्ष उमेर नाघेका व्यक्तिहरूले वर्षमा कम्तीमा एक पटक अनिवार्य आँखा जँचाउनुपर्ने सुझाव दिनुभयो । विशेषगरी मधुमेह र उच्च रक्तचाप भएका बिरामीहरूले आँखाको विशेष ख्याल राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त दुई दिने शिविरमा सयौँको सङ्ख्यामा उपस्थित सेवाग्राहीहरूले आँखाको जाँच गराएका थिए। शिविरमा मोतिविन्दुको समस्या देखिएका बिरामीहरूका लागि आगामी जेठ १३ गते शल्यक्रियाको मिति तय गरिएको छ, जसले धेरैको जीवनमा पुनः उज्यालो भर्ने विश्वास लिइएको छ । यसरी स्थानीय सरकार र प्रतिष्ठित स्वास्थ्य संस्थाबीचको सहकार्यले नागरिकको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुग्नु आफैँमा एक उदाहरणीय कार्य बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *