स्व. मुकुन्द रिजाल स्मृति फुटबल सुरु : खेलकुद र वडा विकासमा स्व. रिजालको योगदानको चर्चा

काठमाडौँ,  जेठ १० । काठमाडौँ महानगरपालिका वडा नं. १६ को आयोजनामा आजदेखि ‘स्व. मुकुन्द रिजाल स्मृति वडास्तरीय फुटबल प्रतियोगिता’ भव्य रूपमा सुरु भएको छ । लैनचौर खेलमैदानमा आयोजित उद्घाटन समारोहमा वडाको समग्र विकास, खेलकुदको महत्त्व र स्व. रिजालको बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरिएको छ ।

प्रतियोगितामा महानगरपालिकाका १३ वटा वडाहरू (वडा नं. २, ३, ५, ९, १०, ११, १३, १४, १६, १९, २३, २५ र २६) का टिमहरूले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक वडा नं. १६ र वडा नं. १० बिच भएको थियो, जसमा आयोजक टोलीले २–० को जित निकाल्दै सुखद सुरुवात गरेको छ । यसैगरी, आजै सम्पन्न दोस्रो खेलमा वडा नं. ५ ले वडा नं. १९ लाई ३-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

कार्यक्रममा बोल्दै वडा नं. १६ का अध्यक्ष रोजिना श्रेष्ठले खेलकुद प्रतियोगितालाई वडाले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्व. रिजालको स्मरण गर्दै उहाँले भन्नुभयो, “स्व. रिजालको राजनीतिक भन्दा सामाजिक छवि अत्यन्त बलियो थियो । वडाको समृद्धिका लागि उहाँले देख्नुभएका सपनाहरू पूरा गर्नु नै हाम्रो मुख्य लक्ष्य हुनेछ ।”

वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले वडास्तरीय खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनको आधारका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्व. रिजाललाई एक दूरदृष्टि भएको नेताको रूपमा स्मरण गर्नुभयो ।

स्व. रिजालकी धर्मपत्नी कविता आचार्य रिजालले आफ्नो पतिको स्मृतिमा आयोजना गरिएको यस प्रतियोगिताप्रति आभार प्रकट गर्नुभयो । “सन्तुलित विकासमार्फत वडाको समृद्धि उहाँको मुख्य चाहना थियो,” उहाँले भन्नुभयो, “सबै मिलेर उहाँको सपना पूरा गर्न सके मात्र उहाँप्रति सच्चा सम्मान हुनेछ ।”

त्यस्तै, वडा सदस्य हर्कबहादुर खातीले खेलकुदलाई युवाहरू बिचको आपसी सम्बन्ध र भाइचारा विकास गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

स्थानीय तह निर्वाचन २०७४ र २०७९ मा वडा नं. १६ बाट दुई पटक अध्यक्ष पदमा निर्वाचित मुकुन्द रिजालको २०८० भदौ २१ गते निधन भएको थियो । उहाँ काठमाडौँ महानगर कार्यपालिका अन्तर्गतको पूर्वाधार समितिको संयोजकको रूपमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँको योगदान र स्मृतिको सम्मानमा वडाले यो प्रतियोगिता आयोजना गरेको हो ।