दसैँका लागि पोखरामा भित्रिए १४ हजार ८०० भेडाच्याङ्ग्रा, हाटबजार सञ्चालन

कास्की, २७ असोज । दसैँलाई लक्षित गर्दै पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्। मुस्ताङ, दार्चुला, बझाङ, बाजुरा र डोल्पालगायत हिमाली जिल्लाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङ्ग्रा ल्याएपछि पोखरा महानगरपालिका–१ सिमपानी र वडा नं. २५ हेमजामा हाटबजार सञ्चालनमा आएको छ।

पोखरा महानगरपालिकाको पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक–एक हजार भेडाच्याङ्ग्रा पोखरा ल्याइएको छ। अझै केही भेडाच्याङ्ग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक–दुई दिनअघिसम्म बजारमा आइपुग्ने उहाँले जानकारी दिनुभयो।

अधिकारीका अनुसार कतिपय व्यापारीले भेडाच्याङ्ग्रा हाटबजारमा ल्याइसकेका छन् भने धेरैले पोखरावरपरका चरन क्षेत्रमा राखेका छन्। गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ।

दसैँका लागि भित्रिएका भेडाच्याङ्ग्राको स्वास्थ्य अवस्था र बिक्री वितरणको अनुगमन सुरु गरिएको छ। पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालय पोखराको संयुक्त टोलीले अनुगमन गरिरहेको छ।

अनुगमनका क्रममा अधिकांश भेडाच्याङ्ग्रा स्वस्थ पाइएको टोलीले जनाएको छ। फूलपातीसम्म निरन्तर अनुगमन गरिनेछ। व्यापारीले सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयबाट स्वास्थ्य परीक्षण गराई प्रमाणपत्र लिएपछि मात्रै पशु ढुवानी गर्ने व्यवस्था रहेको छ। बिरामी पशु भेटिएमा अन्य पशुबाट अलग राख्न आइसोलेसनको व्यवस्था गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. ग्रिष्म न्यौपानेले चाडपर्वका बेला ठूलो सङ्ख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था र रोगको जोखिमलाई ध्यानमा राखेर संयुक्त अनुगमन गरिएको बताउनुभयो। उहाँले उपभोक्तालाई भेडाच्याङ्ग्रा खरिद गर्दा स्वास्थ्य अवस्थाबारे ध्यान दिन आग्रह गर्नुभयो।

उहाँका अनुसार सामान्य अवस्थामा श्वासप्रश्वासको गति नबढेको, र्‍याल नकाढेको र चिल्लो रौँ भएको च्याङ्ग्रा छनोट गर्नु उपयुक्त हुन्छ। लामो समय पैदल हिँडाएर वा गाडीमा ल्याइएका पशुलाई एक–दुई दिन आराम गराएर मात्रै बध गर्नु राम्रो हुने उहाँको सुझाव छ। बध गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि नै घरमा ल्याएर राख्नु उपयुक्त हुने उहाँले बताउनुभयो।

महानगरपालिकाको पशु सेवा शाखाका अनुसार पोखराको हाटबजारमा च्याङ्ग्रा प्रतिकेजी अधिकतम १ हजार २५० रुपैयाँ र भेडा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको छ। हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका च्याङ्ग्राको मासुको माग दसैँमा पोखरा र आसपासका क्षेत्रमा उच्च हुने गर्छ।

पोखरामा भेडाच्याङ्ग्राका अतिरिक्त सुर्खेत, अर्घाखाँची, दाङ, पाल्पा र तनहुँलगायत जिल्लाबाट पनि ठूलो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्ने गरिन्छ।

मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट ११ दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याइपुर्‍याएको बताउनुभयो। उहाँका अनुसार केही ठाउँमा पैदल हिँडाएर र केही स्थानमा गाडीमा राखेर पशु ढुवानी गरिएको हो।

यस वर्ष अविरल वर्षा र पहिरोका कारण विगतका वर्षभन्दा ढुवानीमा बढी कठिनाइ भएको उहाँले बताउनुभयो। बजारसमेत अपेक्षाअनुसार राम्रो नभएको उहाँको भनाइ छ।

बाटोमा विभिन्न स्थानीय तह तथा पशु सेवा कार्यालयमा तिर्नुपर्ने शुल्क र चरनको खर्चसमेत जोडिने भएकाले च्याङ्ग्राको मूल्य महँगो पर्ने गरेको व्यापारी देवकोटाले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *