दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्दो
घर फर्किने यात्रुको चाप
काठमाडौँ, असोज २७ । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिस दसैँ मनाउन आफ्नो गाउँघर फर्किन थालेपछि उपत्यकाका विभिन्न नाकामा यात्रुको चहलपहल बढेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएका छन् ।
उहाँका अनुसार नागढुङ्गा नाकाबाट सबैभन्दा बढी २७ हजार ६४९ यात्रु बाहिरिएका छन् । त्यस्तै, भक्तपुर नाकाबाट २० हजार ६१५, फर्पिङबाट पाँच हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोट नाकाबाट ५६ यात्रु बाहिरिएका छन् ।
दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै सार्वजनिक यातायात व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण सवारीसाधन सञ्चालन तथा यात्रु व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।
उहाँका अनुसार दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्गमा भएको क्षतिका कारण सवारीसाधन निर्धारित समयमा गन्तव्यमा पुग्न र काठमाडौँ फर्किन कठिनाइ भएको छ । असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएकाले व्यवस्थापनमा थप समस्या भएको उहाँले बताउनुभयो ।
महासङ्घले यात्रुलाई अग्रिम टिकट लिएर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न तथा यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
दसैँ परिवार तथा आफन्तसँग भेटघाट गरी मनाइने प्रमुख नेपाली चाड भएकाले रोजगारी, अध्ययन र व्यवसायका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस हरेक वर्ष यस समयमा घर फर्किने गर्छन् । यससँगै उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने गरेको छ ।
