स्कूल पार्टनरसिपबाट पुस्तकरहित शुक्रबारका कार्यक्रम व्यवस्थित गर्न सकिन्छ : कार्यवाहक प्रमुख डंगोल

पुस्तक रहित शुक्रबार

काठमाडौँ,  असोज २७ ।  काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालयमा खेलमैदान, स्रोतसाधन तथा जनशक्तिको अभावलाई स्कूल पार्टनरसिप कार्यक्रममार्फत व्यवस्थापन गर्न सकिने बताउनुभएको छ ।

महानगरपालिकाको नगर शिक्षा समितिको सोमबार बसेको बैठकमा पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालनका चुनौतीबारे धारणा राख्दै उहाँले खेलमैदान नभएका विद्यालयका विद्यार्थीलाई नजिकैका खेलमैदान भएका विद्यालयमा लगेर प्रशिक्षण दिन सकिने बताउनुभयो । यसबाट उपलब्ध स्रोतसाधनको साझा उपयोग गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो ।

कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य तथा शिक्षा समितिबाट सिफारिस भएर आएको ‘पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८३’ स्वीकृत गरेको छ । विद्यालय तहमा सञ्चालन हुँदै आएको कार्यक्रमलाई व्यवस्थित बनाउँदै विद्यार्थीको रुचि, सिर्जनात्मक प्रतिभा र जीवनोपयोगी सीप विकासमा केन्द्रित गर्नु मार्गदर्शनको मुख्य उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ ।

कार्यक्रमको प्रभावकारिताबारे स्वतन्त्र अध्ययनबाट मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै कार्यवाहक प्रमुख डंगोलले कार्यक्रम सुरु गर्दाको उत्साह, लक्ष्य र प्राथमिकता अहिले कुन अवस्थामा छन् भन्ने समीक्षा गर्नुपर्ने बताउनुभयो । पुस्तकरहित शुक्रबारमा विद्यार्थीले हासिल गरेको ज्ञान, सीप र दक्षता व्यवहारमा कति उपयोगी भएको छ भन्ने विषयमा पनि मूल्याङ्कन आवश्यक रहेको उहाँको भनाइ थियो ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले विद्यार्थीको सन्तुलित सिकाइ आजको आवश्यकता भएको उल्लेख गर्दै कार्यक्रम तर्जुमा र कार्यान्वयनमा यस पक्षलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

मार्गदर्शनअनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उमेर, रुचि र आवश्यकताका आधारमा विभिन्न गतिविधिमा सहभागी गराइनेछ । कक्षा १ देखि ३ सम्म ‘रमाइलो शुक्रबार’, कक्षा ४ देखि ८ सम्म ‘सिर्जनात्मक सिकाइ’, कक्षा ९ मा ‘शिक्षामा सीप’ तथा कक्षा ४ देखि १० सम्म खेलकुद र ‘सुन्दर विद्यालय’ कार्यक्रम सञ्चालन गरिने व्यवस्था गरिएको छ ।

‘सिर्जनात्मक सिकाइ’ अन्तर्गत अबाकस, विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित स्टिम (एसटीईएम), कोडिङ तथा कृत्रिम बौद्धिकता, योग र ध्यान, गायन, वाद्यवादन, नृत्य, भित्तेचित्र र हस्तकलासम्बन्धी गतिविधि सञ्चालन गरिनेछ । विद्यार्थीको रुचि र क्षमताका आधारमा उपसमूह गठन गरी उनीहरूमा रहेको प्रतिभा पहिचान गर्नुका साथै प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गरिने मार्गदर्शनमा उल्लेख छ ।

शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार नियमित पाठ्यपुस्तकमा आधारित सिकाइसँगै विद्यार्थीको व्यावहारिक क्षमता, व्यक्तित्व विकास, सामाजिक व्यवहार र प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमलाई व्यवस्थित गर्न लागिएको हो ।

कक्षा ९ का विद्यार्थीका लागि सञ्चालन गरिने ‘शिक्षामा सीप’ कार्यक्रमले व्यावसायिक तथा रोजगारमूलक सीप विकासमा जोड दिनेछ । परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार यसअन्तर्गत ब्युटिसियन तथा हेयर स्टाइल, पाककला, हाउस वायरिङ तथा इलेक्ट्रिकल र स्केचिङ तथा स्कल्प्चर विधा समावेश गरिएका छन् । प्रत्यक्ष अभ्यासमार्फत विद्यार्थीलाई आधारभूत श्रम, व्यावहारिक दक्षता र उद्यमशीलतासँग परिचित गराउने महानगरपालिकाको लक्ष्य छ ।

खेलकुद कार्यक्रमअन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँते, क्रिकेट र फुटबल गरी सात विधामा प्रशिक्षण तथा प्रतिस्पर्धा सञ्चालन गरिनेछ । विद्यालयमा खेलमैदान नभए नजिकका खुला स्थानमा खेलकुद गतिविधि सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी, ‘सुन्दर विद्यालय’ कार्यक्रमअन्तर्गत विद्यार्थीको सहभागितामा शौचालय तथा कक्षाकोठा सफाइ, फोहरमैला व्यवस्थापन, विद्यालय परिसरको सजावट, वृक्षरोपण, हरियाली प्रवर्द्धन र वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ । यसका लागि विद्यालयले हरेक शुक्रबार ३० मिनेट अनिवार्य रूपमा छुट्याउनुपर्नेछ ।

मार्गदर्शनले कार्यक्रमलाई औपचारिकतामा सीमित हुन नदिन समयावधि, प्रशिक्षकको योग्यता, विद्यालयको जिम्मेवारी तथा अनुगमन र मूल्याङ्कनसम्बन्धी व्यवस्था गरेको छ । ‘बालबालिका तथा वातावरण’ (वावा) उपसमूहबाहेक अन्य उपसमूहको सिकाइ अवधि प्रशिक्षकको प्रत्यक्ष सहजीकरणमा ७५ घण्टा र परियोजना कार्यमा २५ घण्टा गरी कुल १०० घण्टा निर्धारण गरिएको छ । विद्यालयले हरेक शुक्रबार तीन घण्टा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ भने सिर्जनात्मक सिकाइ, शिक्षामा सीप र खेलकुदका गतिविधि एक शैक्षिक सत्रमा २५ शुक्रबार सञ्चालन गर्नुपर्नेछ ।

प्रशिक्षक छनोटमा सम्बन्धित विधामा डिप्लोमा उत्तीर्ण वा कम्तीमा पाँच वर्षको अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिन सकिने व्यवस्था छ । कक्षा ९ को ‘शिक्षामा सीप’ कार्यक्रमका लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण प्रशिक्षक र डिप्लोमा उत्तीर्ण सहायक प्रशिक्षकको व्यवस्था गर्नुपर्नेछ । आवश्यक योग्यता भएका जनशक्ति उपलब्ध नभए तोकिएको अनुभव भएका व्यक्तिलाई परिचालन गर्न सकिनेछ । स्टिम तथा बालबालिका र वातावरणसम्बन्धी कार्यक्रम भने अनुभवी र तालिमप्राप्त फोकल शिक्षकबाट सञ्चालन गरिनेछ ।

कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले विधाअनुसार अनुदानको सीमासमेत निर्धारण गरेको छ । सिर्जनात्मक सिकाइका प्रत्येक उपसमूहलाई अधिकतम ८७ हजार ५०० रुपैयाँ उपलब्ध गराइनेछ । शिक्षामा सीप कार्यक्रमका विभिन्न विधाका लागि एक लाख नौ हजार ७५० रुपैयाँदेखि दुई लाख १५ हजार ७५० रुपैयाँसम्म तथा खेलकुदका प्रत्येक विधाका लागि सहायक प्रशिक्षकबाहेक अधिकतम एक लाख १८ हजार २५० रुपैयाँ अनुदान उपलब्ध गराइनेछ ।

विद्यालयले प्रारम्भिक लागतको ५० प्रतिशत रकम पेश्कीका रूपमा प्राप्त गर्नेछ भने कार्यक्रम सम्पन्न भएपछि आवश्यक कागजात र खर्च विवरणका आधारमा बाँकी रकम निकासा गरिनेछ । आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न प्रशिक्षकको हाजिरी, प्रशिक्षण अवधि, सिकाइ सामग्री खरिद, खर्च विवरण तथा फोकल शिक्षकको प्रतिवेदन अभिलेखीकरण गर्नुपर्ने व्यवस्था पनि मार्गदर्शनमा समेटिएको छ ।

विद्यालयले शैक्षिक सत्र सुरु भएको एक महिनाभित्र विद्यार्थीको रुचि र आवश्यकताका आधारमा सामान्यतः ४० जनासम्म रहने गरी उपसमूह गठन गरेर शिक्षा विभागमा विवरण पठाउनुपर्नेछ । वावा उपसमूहबाहेक अन्य उपसमूहमा विद्यार्थीलाई दोहोरो सदस्यता दिन पाइने छैन ।

कार्यक्रमको गुणस्तर सुनिश्चित गर्न प्रधानाध्यापक, विद्यालय निरीक्षक, स्रोत शिक्षक तथा महानगरपालिकाका पदाधिकारीबाट नियमित अनुगमन र मूल्याङ्कन गरिनेछ । प्रधानाध्यापकले प्रशिक्षक छनोट, सम्झौता, कार्यक्रमको गुणस्तर, वित्तीय उत्तरदायित्व र प्रतिवेदनको जिम्मेवारी लिनुपर्नेछ भने फोकल शिक्षकले दैनिक गतिविधिको अभिलेख राखी समग्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।

बैठकमा समितिका सदस्य तथा विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल र राजेन्द्र अधिकारीले कार्यक्रमको नतिजालाई अनुदानसँग जोड्दै लैजानुपर्ने धारणा राख्नुभयो ।

महानगरपालिकाले पुस्तकरहित शुक्रबारलाई विद्यार्थीले नियमित कक्षाकोठाभन्दा बाहिर आफ्नो रुचिअनुसार सिक्ने, अभ्यास गर्ने र क्षमता प्रदर्शन गर्ने अवसरका रूपमा विकास गर्न खोजेको छ । नयाँ मार्गदर्शनले कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ ।

यसैबीच, बैठकले महेन्द्र भवन आवासीय माध्यमिक विद्यालयको नाम परिवर्तन गरी ‘महेन्द्र भवन महानगर विद्यालय’ कायम गर्ने निर्णयसमेत गरेको छ । महेन्द्र भवन शैक्षिक गुठी र काठमाडौँ महानगरपालिकाबीच गत साउन ६ गते उक्त विद्यालयलाई आधुनिक तथा नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने र गुरुयोजनामार्फत विशेष विद्यालय विकास गर्ने सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *