मुग्लिन–पोखरा सडक विस्तारः इन्धन अभावले काम सुस्त, असार १५ को भाका पनि टर्ने
कास्की, १४ जेठ । पृथ्वी राजमार्गअन्तर्गत निर्माणाधीन मुग्लिन–पोखरा सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पश्चिम खण्ड (जामुने–पोखरा) को काम आगामी असार मसान्तभित्र पनि पूरा नहुने भएको छ। पटक–पटक म्याद थपिए पनि निर्माण सामग्रीको मूल्यवृद्धि, इन्धन अभाव र लगातारको वर्षाका कारण असार १५ गतेसम्म तोकिएको पछिल्लो भाका पनि टर्ने निश्चित भएको हो।
आयोजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८.७१ किलोमिटर सडक पर्दछ। मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत मात्र पुगेको छ।
कुल सडकखण्डमध्ये ३८ किलोमिटरमा पहिलो तहको र ३७.२८ किलोमिटरमा दोस्रो तहको कालोपत्रे सम्पन्न भएको छ। यद्यपि, मुख्य काम बाँकी नै रहँदा इन्धन अभावले निर्माणको गतिमा गम्भीर असर परेको योजना प्रमुख कुँवरले बताए।
“निर्माण कम्पनीलाई हेभी मेसिनरी चलाउन दैनिक ४ हजार लिटर डिजेल आवश्यक पर्छ, तर अहिले १ हजार ५०० लिटर मात्र उपलब्ध भइरहेको छ,” उनले भने, “यसका साथै निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि र वर्षाले गर्दा पनि तोकिएको समयमा काम सक्न असम्भव देखिएको हो।”
योजनाका सूचना अधिकारी अनन्त बरालका अनुसार, हाल कालोपत्रे सम्पन्न भइसकेका क्षेत्रहरूमा सर्भिस लेन निर्माण, सडक मार्किङ (थर्मोप्लास्टिक पेन्ट) र सडक सुरक्षाका लागि ‘डब्लु बिम रोड सेफ्टी ब्यारियर’ जडान गर्ने काम भइरहेको छ। आयोजनाको डिजाइनअनुसार यस खण्डमा २०.५५ किलोमिटर चार लेन र १८.१६ किलोमिटर सडक चार लेनसहितको सर्भिस लेन (साइड रोड) को हुनेछ।
नेपालको प्रमुख विकास साझेदार एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा सञ्चालित यस आयोजनाको पश्चिम खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘यानहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन’ ले पाएको छ।
७ अर्ब ४० करोड रुपैयाँ लागतमा २०७८ जेठ २ गते ठेक्का सम्झौता भई सोही वर्षको भदौ १२ गतेदेखि यस खण्डको निर्माण कार्य सुरु गरिएको थियो। गत पुसमा तेस्रोपटक म्याद थपेर आगामी असार १५ सम्म पुर्याइएको थियो, तर निर्माण कम्पनीले अत्यावश्यकबाहेकका अन्य काममा अपेक्षित गति दिन नसक्दा आयोजना अझै लम्बिने देखिएको छ।