हैदराबादलाई ४७ रनले पराजित गर्दै राजस्थान क्वालिफायर–२ मा प्रवेश
काठमाडौँ, १४ जेठ । राजस्थान रोयल्स ले सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग को क्वालिफायर–२ मा स्थान बनाएको छ।
न्यु चण्डीगढमा बुधबार राति सम्पन्न एलिमिनेटर खेलमा राजस्थानले दिएको २ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १ सय ९६ रनमै अलआउट भयो।
अब राजस्थानले फाइनल प्रवेशका लागि शुक्रबार हुने क्वालिफायर–२ मा गुजरात टाइटन्स सँग प्रतिस्पर्धा गर्नेछ।
राजस्थानको जितमा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी नायक बने। उनले केवल २९ बलमा ९७ रनको विस्फोटक इनिङ्स खेल्दै विपक्षी बलरमाथि दबाब सिर्जना गरे। आफ्नो इनिङ्समा उनले १२ छक्का र ५ चौका प्रहार गरे।
सूर्यवंशी आइपिएल इतिहासकै सबैभन्दा छिटो शतक बनाउने क्रिस गेलको कीर्तिमान तोड्ने नजिक पुगेका थिए। तर ३० बलमै शतक पूरा गर्ने अवसर गुमाउँदै उनी ९७ रनमा आउट भए।
उनले यस इनिङ्सका क्रममा टी–ट्वान्टी क्रिकेटको एउटै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने नयाँ कीर्तिमान समेत बनाए।
पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ४३ रन बनाएको थियो। सूर्यवंशीपछि ध्रुव जुरेलले २१ बलमा अर्धशतक प्रहार गर्दै टोलीलाई विशाल स्कोरसम्म पुर्याए। हैदराबादका लागि हिंजले ३ विकेट लिए।
जवाफी ब्याटिङमा हैदराबादले आक्रामक सुरुआत गरे पनि जोफ्रा आर्चर ले पावरप्लेमा ३ विकेट लिएपछि टोली दबाबमा परेको थियो। उनले सुरुमै अभिषेक शर्मा लाई शून्यमै आउट गरे। त्यसपछि इशान किशन (३३ रन) र ट्राभिस हेड (१७ रन) लाई पनि पेभिलियन फर्काए।
हैदराबादका लागि नितिश रेड्डीले ३८ रन तथा अरौराले ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। राजस्थानका लागि आर्चरले ३ विकेट लिए भने बर्गरले २ विकेट हात पारे।