क्रिस्टल प्यालेसको ऐतिहासिक सफलता, पहिलो युरोपियन उपाधि जित्दै कन्फ्रेन्स लिग च्याम्पियन

काठमाडौँ, १४ जेठ । क्रिस्टल प्यालेस एफ.सी.ले  रायो भ्यालेकानो लाई १–० ले पराजित गर्दै युइएफए युरोपा कन्फरेन्स लिग फाइनल को उपाधि जितेको छ। यो क्रिस्टल प्यालेसको इतिहासमै पहिलो युरोपियन उपाधि हो।

जर्मनीस्थित रेड बुल एरिना लाइपजिगमा बुधबार राति सम्पन्न फाइनलमा जीन-फिलिप माटेटाले गरेको निर्णायक गोल नै प्यालेसको जितका लागि पर्याप्त बन्यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रिस्टल प्यालेसले दोस्रो हाफ सुरु भएको ६ मिनेटमै अग्रता बनाएको थियो। एडम व्हार्टनको प्रहारलाई रायोका गोलकिपर अगस्टो बटालाले पूर्ण रूपमा नियन्त्रण गर्न नसक्दा फर्किएको बललाई माटेटाले नजिकबाट गोलमा परिणत गरे।

त्यसपछि पनि प्यालेसले थप गोलका अवसर सिर्जना गरेको थियो। येरेमी पिनोको शानदार फ्रिकिक पोस्टमा लागेर फर्कियो भने उनले नै माटेटाका लागि अर्को अवसर सिर्जना गरे पनि बाटालाले उत्कृष्ट बचाउ गरे।

रायो भालेसानोले खेलमा फर्कने प्रयास गरे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन। अन्तिम समयसम्म सशक्त रक्षात्मक प्रदर्शन गरेको क्रिस्टल प्यालेसले ऐतिहासिक जित सुरक्षित गर्‍यो।

योसँगै प्रशिक्षक ओलिभर ग्लासनरले पनि शानदार रूपमा क्लब यात्रा टुंग्याएका छन्। उनले साढे दुई वर्षको कार्यकालमा क्लबलाई एफए कप, एफए कम्युनिटी शिल्ड र अब कन्फ्रेन्स लिगको उपाधि जिताउन सफल भए।

गत सिजन म्यानचेस्टर सिटी एफ.सी.लाई हराउँदै एफए कप जितेको प्यालेसले यस सिजन लिभरपुल एफ.सी. लाई पराजित गर्दै कम्युनिटी शिल्ड पनि जितेको थियो। अब कन्फ्रेन्स लिग थपिएसँगै क्लबले लगातार दुई सिजनमा तीन प्रमुख उपाधि जित्न सफल भएको छ।

क्रिस्टल प्यालेस र रायो भालेसानो दुवैका लागि यो पहिलो युरोपियन फाइनल थियो। त्यसैले खेलको सुरुआत सावधानीपूर्ण बनेको थियो। रायोका अलेमाओ र उनाई लोपेजले पहिलो हाफमा अवसर पाए पनि गोल गर्न सकेनन्।

पहिलो हाफको अन्त्यतिर टायरिक मिचेलले एडम वार्टनको उत्कृष्ट पासमा हेडर प्रहार गरे पनि बल लक्ष्यभन्दा बाहिर गएको थियो।

माटेटाका लागि यो सिजनको १६औं गोल हो। जनवरी ट्रान्सफर विन्डोमा उनी एसी मिलान जाने तयारीमा थिए, तर घुँडाको चोटका कारण सरुवा रोकिएको थियो। अहिले भने उनी प्यालेसका लागि युरोपियन उपाधिका नायक बनेका छन्।

ओलिभर ग्लासनरको आगमनअघि माटेटाले प्यालेसका लागि ८० खेलमा केवल ११ गोल गरेका थिए। तर ग्लासनरको प्रशिक्षणमा उनले १ सय १० खेलमा ४६ गोल गरिसकेका छन्।

यस ऐतिहासिक जितसँगै क्रिस्टल प्यालेस अर्को सिजनको युइएफए युरोपा लिग मा पनि छनोट भएको छ।