एसियाली खेलकुद छनोट: समूह विजेता बन्न आज नेपाल र मलेसिया भिड्दै
काठमाडौँ, २१ जेठ । एसियाली खेलकुद छनोट प्रतियोगिताअन्तर्गत आज नेपालले आफ्नो अन्तिम समूह खेलमा मलेसियाको सामना गर्दैछ। सिङ्गापुरमा हुने यस खेलमा नेपाल मलेसियालाई पराजित गर्दै समूह ‘ए’ को विजेता बन्ने लक्ष्यका साथ मैदान उत्रनेछ।
नेपाल र मलेसिया दुवै टोली एक खेल अगावै एसियाली खेलकुदका लागि छनोट भइसकेका छन्। समूह चरणको पहिलो खेलमा चीन दुवै टोलीसँग पराजित भएपछि नेपाल र मलेसियाका लागि यो खेल केवल समूह विजेता र उपविजेताको टुङ्गो लगाउने प्रतिष्ठाको लडाइँ हुनेछ।
आफ्नो पहिलो खेलमा चीनमाथि २२१ रनको विशाल जित दर्ता गरेको नेपाल अहिले उच्च मनोबलमा छ। सो खेलमा ओपनर कुशल भुर्तेलले मात्र ४३ बलमा १२९ रनको विष्फोटक शतकीय पारी खेलेका थिए। बलिङ र ब्याटिङ दुवै क्षेत्रमा सन्तुलित देखिएको नेपाल आज पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस प्रतियोगिताका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा अनुभवी टोली सिङ्गापुर पठाएको छ। नेपाली टोलीमा कप्तान ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन्। यस्तै, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की पनि टोलीमा समावेश छन्।
नेपाल र मलेसियाबीचको यो खेल आज दिउँसो १२:१५ बजे सुरु हुनेछ। दुई समूहमा विभाजित यस प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष २–२ टोलीले एसियाली खेलकुदमा स्थान सुरक्षित गर्ने प्रावधान रहेको छ, जसमा समूह ‘ए’ बाट नेपाल र मलेसियाले आफ्नो स्थान पक्का गरिसकेका छन्।