सगरमाथा क्षेत्रमा एक सातादेखि बेपत्ता दावा शेर्पा आइसफल क्षेत्रमा जीवितै फेला, घस्रिएर फर्किँदै गर्दा उद्धार
सोलुखुम्बु, २१ जेठ । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन सहयोगी ‘हिलारी’ भनिने दावा शेर्पा आज बिहान खुम्बु आइसफल क्षेत्रमा जीवितै तर गम्भीर बिरामी अवस्थामा फेला परेका छन्।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कामदारहरूले शेर्पालाई खुम्बु आइसफलको क्र्याम्पोन पोइन्ट नजिकैबाट आधार शिविरतर्फ घस्रिँदै आइरहेको अवस्थामा फेला पारेर उद्धार गरेका हुन्। ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका स्थायी बासिन्दा शेर्पा पर्वतारोही पर्यटकहरूको सहयोगीका रूपमा सगरमाथा क्षेत्रमा जानुभएको थियो। उहाँ एक हप्ताअघि तेस्रो शिविरबाट आधार शिविर फर्कने क्रममा अचानक सम्पर्कविहीन हुनुभएको थियो।
यसअघि हेलिकप्टरको प्रयोग गरी सगरमाथाको तेस्रो शिविर आसपासको क्षेत्रमा व्यापक खोजी गरिए पनि उहाँलाई फेला पार्न सकिएको थिएन। एसपीसीसीका कार्यकारी निर्देशक छिरिङ शेर्पाका अनुसार हिउँले हातखुट्टा खाएको (फ्रोस्टबाइट) र अत्यधिक कमजोरीका कारण गम्भीर अवस्थामा उहाँलाई उद्धार गरिएको हो। उद्धार लगत्तै शेर्पालाई आधार शिविरमा प्रारम्भिक प्राथमिक उपचार र खाना दिइएको छ। हाल उहाँको अवस्था स्थिर रहेको र थप उपचारका लागि हेलिकप्टरमार्फत अस्पताल पठाउने तयारी भइरहेको छ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य ङावाङिमा शेर्पाका अनुसार सगरमाथाको अत्यन्तै प्रतिकूल र चुनौतीपूर्ण मौसममा एक हप्तासम्म खाना र ओत बिना हराएका व्यक्ति जीवितै फेला पर्नुलाई पर्वतारोहण क्षेत्र सम्बद्ध व्यक्तिहरूले एक आश्चर्यजनक र सुखद घटनाका रूपमा लिएका छन्।