नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित
काठमाडौँ जेठ २१। एसीसी महिला प्रिमियर कपअन्तर्गत नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। कठिन परिस्थितिमा ब्याटिङ सम्हाल्दै सीता रानामगर र रुबिना क्षेत्रीले महत्वपूर्ण साझेदारी गरेपछि नेपालले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुआतदेखि नै दबाब झेल्नुपरेको थियो। नियमित अन्तरालमा विकेट गुमाएको नेपाल ६७ रनमै ७ विकेटको अवस्थामा पुगेको थियो। त्यसपछि अनुभवी खेलाडी सीता रानामगर र रुबिना क्षेत्रीले आठौँ विकेटका लागि ४० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई संकटबाट बाहिर निकाले।
सीताले २८ बलमा आकर्षक ३७ रन बनाइन् भने रुबिनाले २१ बलमा २४ रनको योगदान दिइन्। यी दुईको जिम्मेवार इनिङ्सको मद्दतमा नेपालले निर्धारित २० ओभरमा सम्मानजनक योगफल खडा गर्न सफल भयो।
११४ रनको लक्ष्य पछ्याएको भुटानले सुरुदेखि नै नेपाली बलरहरूको कसिलो बलिङको सामना गर्नुपर्यो। भुटानका ब्याटरहरू ठूलो साझेदारी गर्न असफल रहे। डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाएर केही संघर्ष गरे पनि अन्य ब्याटरले दोहोरो अंकमा उल्लेखनीय योगदान दिन सकेनन्।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै भुटानलाई २० ओभरमा ८ विकेट गुमाएर ६२ रनमै सीमित राखे। रुबिना क्षेत्रीले बलिङतर्फ पनि चम्कँदै १५ रन खर्चेर ३ विकेट लिइन्। रिया शर्माले २० रन खर्चेर २ विकेट हात पारिन्। अन्य बलरहरूले पनि अनुशासित प्रदर्शन गर्दै भुटानी ब्याटरहरूलाई खुल्न दिएनन्।
यस जितसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो सफलता प्राप्त गरेको छ। ब्याटिङमा सीता र रुबिनाको साझेदारी तथा बलिङमा रुबिनाको उत्कृष्ट प्रदर्शन नेपालको जितको मुख्य आधार बन्यो।