छैटौं आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न, विभिन्न विधामा चलचित्र तथा स्रष्टा सम्मानित
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.को प्रमुख आतिथ्यता तथा प्रतिनिधिसभा सदस्य रिता माझी, आदिवासी जनजाति अभियन्ता राम मादेन र अमृत सुनुवारको विशिष्ट आतिथ्यतामा छैटौं आदिवासी जनजाति चलचित्र महोत्सव २०८३ सम्पन्न भएको छ।
महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका चलचित्र, वृत्तचित्र तथा लघु चलचित्रहरूको प्रदर्शन गरिएको थियो भने उत्कृष्ट कृतिहरूलाई विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो।
महोत्सवमा लिम्बू चलचित्र ‘रीत’ ले पब्लिक चोइस अवार्ड जित्न सफल भएको छ। उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ ले प्राप्त गरेको छ। सोही चलचित्रका बिबेक गुरुङ उत्कृष्ट स्क्रिप्ट अवार्डबाट सम्मानित भए।
यस्तै, लिम्बू चलचित्र ‘रीत’ का दिनेश लिङ्देन उत्कृष्ट निर्देशक घोषित भए भने मगर चलचित्र ‘दिलसरा’ का कल्याण राना मगर उत्कृष्ट अभिनेता अवार्डबाट सम्मानित भए। नेवारी चलचित्र ‘स्वयनगु’ की भिन्तुना श्रेष्ठ उत्कृष्ट अभिनेत्री घोषित भइन्।
तामाङ चलचित्र ‘ह्याङ तामाङ’ का सूर्य लामाले उत्कृष्ट छायाङ्कन अवार्ड प्राप्त गरे। राजवंशी वृत्तचित्र ‘बिराटनगरके प्राचिन राजवंशी’ ले जुरी अवार्ड जित्दा तामाङ लघु चलचित्र ‘दुखला ग्यम’ ले इन्करेजमेन्ट अवार्ड प्राप्त गर्यो।
त्यसैगरी, मगर लघु चलचित्र ‘लाहुरेनी’ उत्कृष्ट लघु चलचित्र घोषित भयो भने मगर वृत्तचित्र ‘आग्रे’ उत्कृष्ट वृत्तचित्र अवार्डबाट सम्मानित भयो।
महोत्सवका आयोजकहरूले नेपालका आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, इतिहास, मिथक, मौखिक परम्परा तथा सामुदायिक ज्ञानलाई चलचित्रमार्फत संरक्षण, प्रवर्द्धन र दस्तावेजीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताएका छन्।
आयोजकका अनुसार नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब १ हजार ५ सयभन्दा बढी चलचित्र निर्माण भइसकेका छन्। आदिवासी चलचित्रहरूले मातृभाषा, सांस्कृतिक पहिचान, लोकज्ञान, पूर्वजसँगको सम्बन्ध र सामुदायिक जीवनलाई सशक्त रूपमा अभिव्यक्त गर्दै आएको महोत्सवमा उल्लेख गरिएको थियो।