भोटेकोशी बाढीले गोसाइँकुण्ड र मानसरोवर गएका ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?
काठमाडौँ, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठुलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार बुधबार बिहान आएको बाढीका कारण गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्रामा रहेका ४०३ जना पर्यटकहरूसँगको सम्पर्क टुटेको हो ।
पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न ट्रेकिङ र ट्राभल कम्पनीमार्फत भ्रमणमा निस्किएका पर्यटकहरू सम्पर्कविहीन भएको जानकारी दिनुभयो । सम्पर्कविहीन हुनेहरूमा ३४१ विदेशी र ६२ जना नेपाली नागरिक रहेका छन् । लिङ्गका आधारमा २०३ पुरुष र २०० महिला रहेका छन् ।
कुन देशका कति ?
सम्पर्कविहीन हुने पर्यटकमध्ये सबैभन्दा ठुलो सङ्ख्या भारतीय नागरिकको रहेको छ । बोर्डको अद्यावधिक विवरणअनुसार:
भारत: १३३ जना, अमेरिका: ४७ जना, अष्ट्रेलिया: ३४ जना, संयुक्त अधिराज्य (बेलायत): ३३ जना, क्यानडा: २४ जना, मलेसिया: १९ जना, युक्रेन: ७ जना, सिङ्गापुर र दक्षिण अफ्रिका: ६/६ जना, न्युजिल्यान्ड र जापान: ५/५ जना रहेका छन् ।
यसबाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्यान्ड र नेदरल्यान्ड लगायत २५ भन्दा बढी देशका नागरिकहरू बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका छन् । बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरी चौकी तथा भन्सार कार्यालयमा ठुलो भौतिक क्षति पुर्याएको छ । बाढी र पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक खण्डका पुलहरू क्षतिग्रस्त भएका छन्, जसले गर्दा उद्धार र खोजी कार्यमा थप चुनौती थपिएको छ ।
नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।