विश्वकप फुटबलको पूर्वसन्ध्यामा अमेरिकाका दुई सहरमा हिंसात्मक आक्रमण: सुरक्षा व्यवस्थामाथि चुनौती

 

न्युयोर्क/कान्सास सिटी (एजेन्सी),२५ जेठ। विश्वकप फुटबल प्रतियोगिता सुरु हुन मात्र तीन दिन बाँकी रहँदा आयोजक राष्ट्र अमेरिकाका दुई प्रमुख सहरमा भएका हिंसात्मक घटनाले खेलको सुरक्षा व्यवस्थालाई लिएर गम्भीर चिन्ता पैदा गरेको छ। न्युयोर्कमा भएको छुरा प्रहार र कान्सास सिटीमा भएको गोलाबारीमा परी १५ जना घाइते भएका छन्।

आइतबार न्युयोर्कको व्यस्त ‘पेन स्टेसन’ मा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा छ जना घाइते भएका छन्। न्युयोर्कका मेयर जोहरान मामदानीका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ। प्रहरीले आक्रमणमा संलग्न रहेको आशङ्कामा एक मानसिक सन्तुलन गुमाएका घरबारविहीन व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

यो घटना न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेन नजिकै भएको हो, जहाँ सोमबार र बुधबार एनबिए (NBA) फाइनलका खेलहरू हुँदैछन्। न्युयोर्कको मेटलाइफ स्टेडियममा आगामी शनिबार विश्वकपको पहिलो खेल आयोजना हुने तयारी छ। राज्यकी गभर्नर क्याथी होचुलले यसलाई ‘भयानक हिंसाको कृत्य’ भन्दै न्युयोर्कवासीको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएकी छन्।

त्यस्तै, शनिबार कान्सास सिटीमा भएको गोलाबारीमा नौ जना घाइते भएका छन्। यो घटना इङ्गल्यान्डको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थल ‘स्वोप सकर भिलेज’ बाट मात्र ४ माइलको दुरीमा भएको हो। इङ्गल्यान्डको टोली हालसम्म कान्सास सिटी पुगिसकेको छैन। प्रहरीले गोलाबारीमा संलग्नहरूको खोजी गरिरहेको छ।

सुरक्षाको अभूतपूर्व तयारी
४८ टोली सहभागी हुने १०४ खेलको यो महाकुम्भलाई सुरक्षित बनाउन अमेरिकाले विशाल सुरक्षा संयन्त्र परिचालन गरेको छ। अमेरिकामा मात्र ११ सहरमा ७८ खेलहरू हुनेछन्। सुरक्षाका लागि एफबीआई (FBI), सेक्रेट सर्भिस र स्थानीय प्रहरीको संयुक्त टोली खटाइएको छ।

सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग गरिएको छ, जसमा:

  • आकाशमा प्रतिबन्धित वस्तु नियन्त्रण गर्न ‘हन्टर ड्रोन’।

  • शङ्कास्पद झोला जाँच गर्न रोबोट कुकुर।

  • ठूला एक्स-रे ट्रक र एआई  जडित हजारौँ क्यामेराहरू।

एफबीआईका विशेष एजेन्ट अमित कच्छिया-पटेलका अनुसार प्रत्येक आयोजक सहरमा ‘संयुक्त अपरेसन सेन्टर’ स्थापना गरिनेछ। विश्वकपको सुरक्षालाई अमेरिकाको ‘सुपर बाउल’ सरहको उच्च संघीय सुरक्षा प्राथमिकता (High-level federal security designation) मा राखिएको छ।

राजनीतिक चासो र चुनौती
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि विश्वकपका केही खेलहरू हेर्ने इच्छा व्यक्त गरेका छन्। ट्रम्पका विश्वकप टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानीले हालसम्म कुनै ठोस सुरक्षा खतराको सूचना नभएको बताएका छन्। यद्यपि, अमेरिकामा बढ्दो बन्दुक हिंसा सुरक्षाकर्मीका लागि टाउको दुखाइ बनेको छ। तथ्याङ्क अनुसार सन् २०२५ मा मात्र अमेरिकामा ४०० भन्दा बढी सामूहिक गोलाबारीका घटना भइसकेका छन्।

करिब ७० लाख विदेशी पर्यटक विश्वकपका लागि अमेरिका आउने अनुमान गरिएको छ। यस्तो अवस्थामा विदेशी राष्ट्रप्रमुखहरूको सुरक्षा र भीड नियन्त्रण गर्नु अमेरिकी सुरक्षा एजेन्सीहरूका लागि ठूलो परीक्षा हुने देखिएको छ।(सोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी)