मरुभूमिको पसिनाबाट गाउँकै गोठमा ‘सेतो सुन’ : सुरेशको प्रेरणादायी पुनरागमन

काठमाडौँ, जेठ २६ । करिब एक दशकअघिसम्म म्याग्दीका  ४२ वर्षीय सुरेश ढुङ्गानाको दैनिकी खाडी मुलुकको चर्को घाम र मरुभूमिको बालुवाबीच बित्थ्यो। भविष्य खोज्न विदेशिएका हजारौँ नेपाली युवाजस्तै सुरेशले पनि आफ्नो ऊर्जावान् समय परदेशको तातो हावामै खर्चनुभयो । तर, १० वर्षको अन्तरालमा उहाँको परिचय र परिचय फेरिएको छ । आज उहाँको हातमा वैदेशिक रोजगारीको राहदानी (पासपोर्ट) छैन, बरु गोठभरि उन्नत जातका गाईभैँसी र अनुहारमा आफ्नै माटोमा पसिना बगाउनुको बेग्लै सन्तुष्टि छ ।

बेनी नगरपालिका ७ कुरिलाखर्कका सुरेश ढुङ्गाना अहिले जिल्लाकै एक सफल र नमुना कृषकका रूपमा चिनिनुहुन्छ । वि.सं. २०७२ मा वैदेशिक रोजगारीलाई पूर्णविराम लगाएर स्वदेश फर्कँदा उहाँसँग एउटै दृढ सङ्कल्प थियो, “आफ्नै गाउँमा केही गरेर देखाउने ।” त्यही सङ्कल्पको जगमा सुरु भएको ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ आज सफलताको एउटा बलियो उदाहरण बनेको छ ।

एक/एक वटाबाट सुरु भएको यात्रा
सुरुआतमा एउटा गाई र एउटा भैँसीबाट व्यावसायिक पशुपालन सुरु गर्नुभएका सुरेशको फार्ममा अहिले ५० वटा गाईभैँसी छन्। जसमा ४५ वटा माउ हुन्। ती गोठमा उन्नत जातका मुर्रा भैँसी, होलस्टेन र जर्सी गाईको लस्कर देख्दा जोकोहीको मन लोभिन्छ ।

उहाँको दैनिकी बिहान १ बजेदेखि नै सुरु हुन्छ। जब सहर निदाइरहेको हुन्छ, सुरेशको फार्ममा गाईभैँसी दुहुने चटारो सुरु भइसक्छ। बिहान ४ बजेभित्र मोटरसाइकलमा दूधका क्यान राखेर उहाँ बेनी बजारको धौलागिरि डेरीमा पुगिसक्नुहुन्छ । दैनिक ३०० लिटर दूध बिक्री गर्ने सुरेशले एकै दिनमा करिब ३५ हजार रुपैयाँको कारोबार गर्नुहुन्छ ।

परदेशको अनुभव, स्वदेशको उपलब्धि
“एक दशकभन्दा बढी समय खाडीमा पसिना बगाएँ, तर आज आफ्नै गाउँमा गाईभैँसीको सेवा गर्दा जुन खुसी मिलेको छ, त्यो विदेशमा कतै थिएन,” सुरेश गर्वका साथ भन्नुहुन्छ, “अहिले म स्वरोजगार मात्र छैन, अन्य पाँच जनालाई रोजगारी दिन सकेकोमा गर्व लाग्छ ।”

उहाँको फार्ममा तीन जनाले आवासीय रूपमा र दुई जनाले दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । अरुको देशमा नोकर बन्नुभन्दा आफ्नै देशमा मालिक बनेर अरुलाई रोजगारी दिनुको आनन्द शब्दमा वर्णन गर्न नसकिने उहाँको अनुभव छ ।

रु साढे दुई करोडको लगानी र सरकारी सम्मान
कुनै समय सामान्य लगानीबाट सुरु भएको यो व्यवसायमा अहिले उहाँले साढे दुई करोड रुपैयाँभन्दा बढी लगानी गरिसक्नुभएको छ। पुख्र्यौली जग्गासँगै व्यवसायबाट भएको आम्दानीले थप जग्गा खरिद गरी फार्मको क्षमता विस्तार गर्नुभएको छ ।

सुरेशको यो मेहनतलाई सरकारले पनि कदर गरेको छ । २०८० सालमा गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले उहाँलाई उत्कृष्ट कृषकका रूपमा पुरस्कृत गरेको थियो । बेनी नगरपालिकाले पनि उहाँको फार्मलाई जिल्लाकै उत्कृष्ट ठहर गर्दै औषधि, प्राविधिक सहयोग र उत्पादनमा आधारित अनुदान प्रदान गर्दै आएको छ ।

युवालाई सन्देश
आज सुरेश ढुङ्गानाको फार्म अवलोकनका लागि जिल्लाभरका कृषक र सरोकारवालाहरू पुग्ने गर्छन्। उहाँको सफलताले वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाहरूलाई एउटै सन्देश दिएको छ,  “सम्भावना हाम्रै पाखापखेरामा छ, मात्र पसिना बगाउने साहस र धैर्यता चाहिन्छ।”

बेनी नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतम भन्नुहुन्छ, “सुरेशजी जस्ता युवाले गर्दा नै कृषिमा व्यावसायिकता आएको हो। उहाँको फार्म नगरपालिकाकै लागि गौरवको विषय हो ।”

मरुभूमिमा बगाएको पसिनालाई स्वदेशको माटोमा सिञ्चित गर्दा कसरी ‘सेतो सुन’ फलाउन सकिन्छ भन्ने कुरा सुरेश ढुङ्गानाले प्रमाणित गरिदिनुभएको छ। हिजो राहदानी बोकेर विमानस्थल धाउने सुरेश आज मोटरसाइकलमा दूधका क्यान बोकेर बेनीका गल्लीहरूमा खुसी साटिरहनुभएको छ ।