इरानमाथि ट्रम्पको ‘इकोनोमिक डी–डे’: टर्की र इजिप्टका बैंकहरू अमेरिकी निसानामा
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अर्थतन्त्रलाई पूर्ण रूपमा ध्वस्त पार्ने उद्देश्यले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ लाई तीव्रता दिनुभएको छ। सुरुमा ‘इकोनोमिक डी–डे’ को रूपमा प्रचार गरिएको यो अभियान अहिले क्रमिक रूपमा विभिन्न देशका बैंक र वित्तीय संस्थाहरूमाथिको प्रतिबन्धमार्फत अघि बढिरहेको छ।
यसै हप्ता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वभरका अमेरिकी कूटनीतिज्ञहरूलाई एक विशेष परिपत्र पठाउँदै इरानसँगको सबै प्रकारका आर्थिक सम्बन्धहरू ‘तुरुन्त र व्यवस्थित रूपमा’ तोड्न सम्बन्धित देशहरूलाई दबाब दिन निर्देशन दिनुभएको छ। रुबियोले विशेष गरी इरानी बैंकका शाखाहरू रहेका देशहरूलाई ती शाखा तत्काल बन्द गराउन भन्नुभएको छ।
टर्की र इजिप्टका बैंकमाथि प्रतिबन्ध
शुक्रबार अमेरिकी अर्थ मन्त्रालयले टर्कीको ‘गोल्डेन ग्लोबल बैंक’ र त्यसका सहायक कम्पनीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ। यी बैंकहरूले इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स–कड्स फोर्स’ का लागि करोडौँ डलरको कारोबार र चीनबाट हुने तेलको भुक्तानीमा सहजीकरण गरेको अमेरिकाको दाबी छ।
यसअघि अमेरिकाले इजिप्टको दोस्रो ठूलो बैंक ‘बैंक मिस्र’ को संयुक्त अरब इमिरेट्स (यूएई) स्थित शाखाहरूलाई पनि अमेरिकी वित्तीय बजारबाट अलग गर्ने प्रस्ताव गरेको थियो। इरानको सबैभन्दा ठूलो बैंक ‘बैंक मिल्ली’ को दुबई शाखाका प्रबन्धकमाथि पनि प्रतिबन्ध लगाइएको छ।
विज्ञहरूको आशंका र चीनको भूमिका
यद्यपि, विज्ञहरूले अमेरिकी प्रतिबन्धको प्रभावकारितामाथि प्रश्न उठाएका छन्। इरानले दशकौँदेखि यस्ता आर्थिक दबाब झेल्दै र छल्दै आएकाले यी कदमले मात्र तेहरानलाई गलाउन नसकिने कतिपयको तर्क छ। अटलान्टिक काउन्सिलका सिनियर फेलो ड्यानियल टान्नेबाउमका अनुसार, यी प्रतिबन्धहरू बैंकको आकारभन्दा पनि अमेरिकाले आफ्ना मित्र राष्ट्रहरूमाथि समेत कदम चाल्न सक्छ भन्ने सङ्केत दिनका लागि गरिएका हुन्।
अमेरिकाले इरानको मुख्य व्यापारिक साझेदार चीनमाथि कस्तो कदम चाल्छ भन्ने विषयमा भने अझै अन्योल छ। आगामी हप्ता राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने भेटवार्ताअघि अमेरिकाले सावधानीपूर्वक कदम चालिरहेको विश्लेषण गरिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने इरानको मुद्दामा चीनसँग धेरै कुरामा सहमति रहेको दाबी गर्दै यसपटकको आर्थिक अभियानले विश्वव्यापी समर्थन पाइरहेको बताउनुभएको छ।
इरानसँग व्यापारिक सम्बन्ध रहेका पाकिस्तान र ओमान जस्ता देशहरूमाथि पनि तत्कालै कडा प्रतिबन्ध नलगाइने सङ्केत देखिएको छ। ती देशहरूले हाल जारी युद्धमा कूटनीतिक मध्यस्थता गरिरहेकाले अमेरिका सन्तुलित भएर अघि बढ्न खोजेको बुझिएको छ। अमेरिकी विदेश मन्त्रालयले पठाएको केबल (Cable) मा स्पष्ट भनिएको छ, “इरानी बैंकका शाखाहरू तुरुन्तै बन्द गरिनुपर्छ, ती अब सञ्चालनमा रहन सक्दैनन्।”