यात्रु ठग्ने र अस्वस्थ खाना खुवाउनेलाई कारबाही गर्ने मकवानपुर प्रशासनको चेतावनी
हेटौँडा, २० भदौ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राजमार्ग क्षेत्रका होटल तथा पसलहरूलाई नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारको पूर्ण पालना गर्न निर्देशन दिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि त्रिभुवन राजपथ र कान्ति लोकपथमा सवारीको चाप बढेको मौका छोपी यात्रुहरू ठगिने गरेको गुनासो आएपछि प्रशासनले यस्तो चेतावनी दिएको हो।
प्रशासकीय अधिकृत सन्तोष सुवेदीद्वारा जारी सूचनामा राजमार्ग आसपासका केही होटल, रेस्टुरेन्ट र व्यवसायीले फरक परिस्थितिको फाइदा उठाउँदै यात्रुसँग चर्को मूल्य असुल्ने गरेको पाइएको उल्लेख छ। “मूल्य सूची नराख्ने, मापदण्डविपरीत अखाद्य र अस्वस्थ खानेकुरा बिक्री गर्ने तथा यात्रुहरूलाई मर्कामा पार्ने गतिविधि भइरहेको गुनासो प्राप्त भएको छ,” सूचनामा भनिएको छ।
बाढी र पहिरोका कारण मुख्य मार्ग अवरुद्ध भएपछि प्रशासनले वैकल्पिक मार्गमा सवारीको चाप व्यवस्थापन गर्न नयाँ रुट तय गरेको छ:
ठुला र मालवाहक सवारी: काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने।
साना सवारी: भीमफेदी–कुलेखानीको बाटो हुँदै आवतजावत गर्ने व्यवस्था मिलाइएकाे छ ।
प्रशासनले यात्रु तथा उपभोक्तालाई पनि सचेत रहन अपिल गरेको छ। खाना वा सामान खरिद गर्दा अनिवार्य रूपमा बिल–रसिद लिन, मूल्य सूची जाँच गर्न र कुनै पनि प्रकारको अनियमितता वा ठगी भएको पाइएमा तत्काल नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।
प्रचलित कानुनको उल्लङ्घन गर्ने र उपभोक्ताको अधिकारमाथि खेलबाड गर्ने व्यवसायीलाई कडा कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।