अमेरिका-इरान युद्धविराम सम्झौता: के विश्व अर्थतन्त्र अब पुरानै लयमा फर्केला?

 

वासिङ्टन/तेहरान । अमेरिका, इजरायल र इरानबीच तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि ह्वाइट हाउस र इरानी प्रशासनबीच एक ‘फ्रेमवर्क’ (ढाँचागत) सम्झौता भएको छ। यस सम्झौतापछि विश्व अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिए पनि विज्ञहरूले भने पूर्ण सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्ने चेतावनी दिएका छन्।

मध्यपूर्वको यो संकटका कारण विश्वकै प्रमुख तेल ढुवानी मार्ग ‘हर्मज जलडमरू मध्य’  बन्द हुँदा कच्चा तेल, तरल प्राकृतिक ग्यास (LNG) र अन्य अत्यावश्यक वस्तुहरूको आपूर्ति ठप्प भई विश्वभर मूल्यवृद्धि चुलिएको थियो।

हर्मज जलडमरू मध्य कहिले खुल्छ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत “तेलको प्रवाह हुन देऊ” भन्दै व्यावसायिक जहाजहरूका लागि यो मार्ग पुनः खोलिने घोषणा गरेका छन्। तर, ‘बिबिसी भेरिफाई’ र जहाज ट्र्याकिङ साइट ‘मरिन ट्राफिक’  का अनुसार सम्झौताको घोषणा भए पनि उक्त क्षेत्रमा जहाजहरूको चहलपहल अझै निकै कम छ।

फेब्रुअरी २८ देखि बन्द रहेको यो जलमार्गमा अहिले पनि सयौँ जहाजहरू अड्किएका छन्। समुद्री बारुद) र ड्रोन आक्रमणको जोखिमका कारण बीमा कम्पनीहरूले जहाज पठाउन आनाकानी गरिरहेका छन्। डेनमार्कको प्रख्यात सिपिङ कम्पनी ‘माएर्सक’  ले आफ्ना ५ वटा जहाज अझै खाडीमा अड्किएको र तत्कालै सञ्चालनमा कुनै परिवर्तन नहुने बताएको छ। त्यस्तै, जर्मनीको ‘हापाग-लॉयड’ ले भने आगामी सातासम्म आफ्ना जहाज बाहिर निकाल्ने आशा व्यक्त गरेको छ।

तेलको मूल्यमा कस्तो असर पर्ला?
विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने हर्मज क्षेत्र बन्द हुँदा ‘ब्रेन्ट क्रुड’ आयलको मूल्य प्रति ब्यारेल १२० डलरसम्म पुगेको थियो, जुन युद्ध अघि ७० डलर आसपास थियो। सम्झौताको खबर सार्वजनिक भएलगत्तै मूल्य घटेर ८३.५५ डलरमा झरेको छ।

‘राबो बैंक’ की वरिष्ठ ऊर्जा रणनीतिकार फ्लोरेन्स स्मिटका अनुसार सम्झौतामा हस्ताक्षर नभएसम्म बजारमा उतारचढाव कायमै रहनेछ। उनले भनिन्, “अहिले ६० दिनका लागि मात्र बाटो खोल्ने कुरा भएको छ, त्यसपछि के हुन्छ भन्ने अझै स्पष्ट छैन। यदि पूर्ण युद्धविराम भएमा मात्र वर्षको अन्त्यसम्ममा मूल्य ८० डलरभन्दा तल झर्न सक्छ।”

खाद्यान्न र मलको मूल्यमा राहत
युद्धका कारण रासायनिक मलको उत्पादन र ढुवानीमा आएको अवरोधले विश्वभरका किसानहरू मर्कामा परेका थिए। ऊर्जा विश्लेषक मौरिजियो कारुलीका अनुसार युद्धविरामले मल बजारको दबाब कम गर्नेछ। तर, धेरै देशमा खेतीको सिजन सुरु भइसकेकाले यो राहत केही ढिलो हुन सक्छ। इन्धन र मलको मूल्य बढ्दा प्रत्यक्ष रूपमा विश्वव्यापी खाद्य सुरक्षामा असर परेको छ।

ब्याजदर र मुद्रास्फीति
इन्धनको मूल्य वृद्धिले विश्वभर मुद्रास्फीति (महँगी) बढाएको छ, जसका कारण केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन बाध्य भएका थिए। बेलायतको ‘बैंक अफ इङ्गल्याण्ड’ ले यसअघि ब्याजदर घटाउने अपेक्षा गरिएको भए पनि युद्धका कारण दर स्थिर राख्नुपरेको थियो।

लगानी निर्देशक रस मोल्डका अनुसार यो सम्झौतापछि बजारमा सकारात्मक सन्देश गएको छ। यदि तनाव कम भएमा ब्याजदर घट्न सक्ने र यसले कम्पनीहरूलाई नयाँ रोजगारी सिर्जना गर्न र उपभोक्ताहरूलाई खर्च गर्न सहज बनाउनेछ।

अन्तर्राष्ट्रिय समुदायले यस सम्झौतालाई ‘नाजुक युद्धविराम’ का रूपमा हेरेका छन्। सम्झौता पूर्ण रूपमा कार्यान्वयन भएमा मात्र विश्व अर्थतन्त्रले दीर्घकालीन राहत महसुस गर्ने विज्ञहरूको ठहर छ।(स्रोतः बीबीसी)